प्रदेश ५ को आइसोलेशन कक्ष तयारी अवस्थामा, चिकित्सकलाई जिम्मेवारी दिईयो

काठमाडौँ, २७ फागुन । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशका प्रमुख अस्पतालमा चिकित्सकसहितको आइसोलेशन कक्ष तयारी अवस्थामा राखेको छ ।

भारतसँगको सीमा नाका भएर पनि सीमा नाकाहरुमा प्रयाप्त सर्तकता नअपनाइएको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ । बेला यस्तथो सावधानी अपनाइएको हो । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालसहितका मुख्य–मुख्य अस्पतालमा आइसोलेशन बेड तयारी अवस्थामा राखिएको छ । दुई वटा क्याबिन आइसोलेशन बेडका रुपमा राखिएको र डाक्टर सुर्दशन थापालाई फोकल चिकित्सकको रुपमा चयन गरिएको जनाएको छ । बिरामीको चापअनुसार बेड थप्न सकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर राजेन्द्र खनालले बताए ।

भेरी अञ्चल अस्पतालमा डाक्टर प्रकाश थापा, भैरहवा युनिभर्सल मेडिकल कलेज भैरहवामा डाक्टर नविनजङ्ग रायमाझी, देवदह मेडिकल कलेजमा डाक्टर सुन्दर पाण्डे, लुम्बिनी मेडिकल कलेज पाल्पामा डाक्टर दिपक भण्डारी र पाल्पा मिसन अस्पतालमा डाक्टर गजेन्द्र नेपालीलाई फोकल चिकित्सकको जिम्मेवारी दिइएको हो ।
त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर सदिक्षा योगी, पृथ्वीचन्द्र अस्पताल परासीमा डाक्टर पवन अग्रहरी, तौलिहवा अस्पतालमा डाक्टर गणेश क्षेत्री र नेपालगञ्ज मेडिकल कलेजमा डाक्टर सुन्दरजङ्ग शाहलाई फोकल चिकित्सकको रुपमा जिम्मेवारी दिइएको सामाजिक विकास मन्त्री सुर्दशन बरालले जानकारी दिनुभयो ।

भारतका विभिन्न ठाउँमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भारतसँग सीमा जोडिएका जिल्लाहरुमा अझै बढी सर्तकता अपनाउनु आवश्यक ठानेर तयारी बढाइएको मन्त्रालयको जनाएको छ । प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालयलगायतले सभा, सम्मेलन र ठूला जमघट हुने कार्यक्रम नगर्न सबैमा सूचना जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्