इटाली सरकारले दियो एक करोड ५० लाख नागरिकलाई क्वारेन्टाइनमा बस्न आदेश

काठमाडौं, फागुन २५ । विश्वव्यापी रूपमा फैलीएको कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म ३ हजार ५ सय जनाको मृत्यु हुनुका साथै विश्वका ९५ भन्दा बढी देशमा कोरोना फैलिइसकेको छ ।

यसैबीच इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ ।घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ ।

इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्वीट गर्दै भेनिस र आर्थिक राजधानी मिलानलगायतको ठूलो क्षेत्रमा कम्तिमा एक महिनाका लागि आवागमनमा कडाई गर्ने एक योजनामा हस्ताक्षर गरेको बताए । प्रधानमन्त्री कोन्टेको आदेशमा मानिसको भिडभाड हुने सिनेमाघर, संग्रहालय, थिएटरहरु सबै बन्द गर्न भनिएको छ ।

‘कोरोनाभाइरसकै कारण नयाँ आदेशलाई अन्ततः अनुमोदन गरेको छु,’ कोन्टेले भन्नु भएको छ । इटालीका अखबारहरु कोरियर डेला सेरा र अन्य संचार माध्यमले उत्तर इटालीमा आवागमन निषेध भएको भन्दै खबरहरु प्रकाशन गरेका छन् ।

इटालीमा कोविड–१९ कै कारण झण्डै २३० जनाको मृत्यु भइसकेको छ । चीन बाहिर यति ठूलो संख्यामा मानिसको मृत्यु भएको इटालीमै हो । चीनमा गत डिसेम्बरमा देखा परेको यस प्रकोपले विश्वका धेरै देशलाई प्रभाव पारिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्