इटलीकोमा कोरोनाभाइरस सङ्क्रमणका झन्डै एक करोड ६० लाखलाइ अनिवार्य क्वारन्टीनमा

काठमाडौंँ २५ फागुन । कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको इटलीका प्रधानमन्त्रीले बताएका छन् । उनीहरूलाई एप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ ।

नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिजोर्ट पनि बन्द हुनेछन । युरोपेली मुलुकमध्ये इटलीमा कोरोनाभाइरस सङ्क्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ। शनिवार त्यहाँ सङ्क्रमित मानिसको सङ्ख्यामा व्यापक वृद्धि भएको थियो।

इटलीमा लागु गरिएका नयाँ उपायहरू देशको वित्तीय केन्द्र मानिने मिलानसहित भेनिसका अन्य पर्यटकीय स्थलमा आगामी एप्रिल ३ सम्म लागु हुनेछन्।

कोभिड(१९ का कारण इटलीमा मृत्यु हुने मानिसको सङ्ख्या २३० पुगेको छ । अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको सङ्ख्या ५० भन्दा बढी पुगेको छ । सङ्क्रमित भएको पुष्टि हुने मानिसको सङ्ख्या शनिवार मात्रै १,२०० ले बढेर ५,८८३ पुगेको थियो ।

एक करोड मानिस बसोबास गर्ने भनिएको उत्तरी भेगमा पर्ने लोम्बार्डी र वित्तीय क्षेत्र मिलान अत्यावश्यक बाहेकका अवस्थामा बन्द रहनेछन् । भेनिससहित १४ प्रान्तमा पनि त्यस्तै प्रावधान कायम रहनेछ ।

मृत्युदर कस्तो छ?
इटलीको राष्ट्रिय स्वास्थ्य निकायले मृत्यु हुने मानिसको औसत उमेर ८१ वर्ष रहेको र उनीहरूमध्ये धेरैमा पहिल्यै स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको जनाएको छ ।

मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष छन् । सरकारी तथ्याङ्कअनुसार कोरोनाभाइरस देखिएका ४.२५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च मृत्युदर हो । विश्वकै धेरै उमेर भएका जनसङ्ख्या रहेको देशमध्ये एक इटली हो ।

नियन्त्रणका उपाय कस्ता ?
भाइरस नफैलियोस् भनेर सर्वसाधारणहरूलाई सकेसम्म घरमै बस्न आह्वान गरिएको छ । सरकारले मानिसहरूको जमघट हुने स्थानहरू बन्द गर्ने भएको छ । नाईटक्लब, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिजोर्ट आदि बन्द छन् । यसअघि केही समयका लागि शैक्षिक संस्थाहरू बन्द हुने घोषणा भइसकेको छ । तर रेस्टुराँ र क्याफे भने खुला रहनेछन् ।
कोरोनाभाइरसका कारण एक दिनमै धेरै मृत्यु हुनेको सङ्ख्या इटलीमा बढी
कोरोनाभाइरस फैलिने डरले इरानमा हजारौँ कैदी तत्कालका लागि रिहा
तर त्यहाँ खानपिनका लागि जाने ग्राहकहरूले एकअर्कासँग कम्तीमा एक मिटरको दुरीमा बस्नुपर्नेछ । सर्वसाधारणहरूका लागि खेलकुदका गतिविधिमा पनि बन्देज लगाइएको छ।
के भन्छ विश्व स्वास्थ्य सङ्गठन?
विश्व स्वास्थ्य सङ्गठनले इटलीलाई सङ्क्रमण फैलिन नदिन गम्भीर रूपमा लाग्न सुझाव दिएको छ । सरकारले क्वारन्टीनबाट भागे तीन महिना जेल सजाय भोग्नुपर्ने घोषणा गरेको छ । इटलीको योजना चीनको जस्तै देखिन्छ । चीनमा लाखौँ मानिसलाई क्वारन्टीनमा बस्न बाध्य पारिएको छ । – बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्