कोरोना भाइरसः इटलीमा एकै दिन ४९ को मृत्यु, मृत्यु हुनेको संख्या १ सय ९७ पुग्यो

काठमाडौं, फागुन २४ । इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । भाइरसको संक्रमणपछि एकै दिनमा मृत्यु हुनेको संख्या बढेको हो ।

गत २४ घण्टामा मात्रै ४९ को मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ । जम्मा संक्रमण हुनेको संख्या अहिलेसम्म ४६ सयभन्दा बढी पुगेको छ ।चीनपछि कोरोनाबाट मृत्यु हुनेको संख्या अधिक हुने देश इटली हो ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा कोरोना भाइरसबाट करिब १ लाख संक्रमित भएको जनाएको छ । भाइरसको कारण तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । जसमध्ये धेरै मृत्यु चीनमा भएको छ ।

इटलीका अधिकारीहरुले एक विज्ञप्तिमार्फत दैनिक मृत्यु हुनेको संख्या सबैभन्दा बढी पुगेको पुष्टि गरेका छन् ।राष्ट्रिय स्वास्थ्य निकायका अनुसार, मृत्यु हुनेमा ८१ वर्ष उमेरका र अन्य स्वास्थ्य समस्या भएका व्यक्ति छन् । मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष छन् ।

सरकारी तथ्यांक अनुसार कोरोनाभाइरस देखिएका ४.२५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च दर हो। यस्तै भाइरसको प्रकोप नियन्त्रण गर्न इटलीमा १० दिन विद्यालय बन्द गर्न निर्देशन दिइएको छ ।

इटलीभन्दा बढी कोरोनाभाइरस संक्रमितको संख्या चीन, दक्षिण कोरिया र इरानमा मात्र रहेको बताइएको छ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रो एड्हानोम गेहब्रेयससले भाइरसको संक्रमण गहिरो चिन्ताको विषय भएको भन्दै यसको रोकथामलाई उच्च प्राथमिकतामा राख्न सबै देशहरूलाई अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्