तत्काल स्कुल-कलेजलाई बन्द गर्न निर्देश दिन कांग्रेसद्वारा सरकारसँग माग

काठमाडौं, फागुन २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्कुल-कलेजलाई तत्काल बन्द गर्न निर्देश दिन सरकारसँग माग गरेको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा कांग्रेस सचेतक पुष्पा भुसालले कोरोनाका कारण लाखौं बालबालिका जोखिम मोलेर स्कुल गइरहेको भन्दै स्कुल-कलेज तत्काल बन्द गर्नका लागि सरकारलाई निर्देशन दिन आग्रह गरेकी हुन् ।जिल्ला प्रशासनले भीडभाडमा नजान सर्कुलर जारी गरेको भएपनि लाखौं बालबालिका स्कुल जान बाध्य रहेको उनले बताइन् ।

‘हिजो भर्खरै मात्र जिल्ला प्रशासनले भीडभाडमा नजान भनेको सर्कुलर पढ्न पायौं । एकातिर जिल्ला प्रशासनले परिपत्र गर्ने अर्कातर्फ लाखौं हाम्रो बालबालिका स्कुल जान बाध्य छन् । चैत ५ सम्म स्कूल बन्द नगर्ने भनेर अर्को सूचना आएको छ,’ सांसद भुसालले भनिन्, ‘एकातर्फ जिल्ला सूचना जारी गर्ने अर्कातर्फ बालबालिका यस्तो जोखिमपूर्ण यात्रा तय गर्नुपर्ने भएकाले सभमुखमार्फत सरकारको ध्यानाकर्षण गराएर स्कुल(कलेजलाई तत्काल बन्द गर्न निर्देश गर्न माग गर्दछु ।’

एता भारतमा पनि कोरोनाको संक्रमण बढ्दै गएकपछि त्यहाँको स्कुल बन्द गरिएको छ । अन्यमा देशमा पनि बन्द तथा आवतजावतमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्