एकता संयोजन समितिको बैठक आज: प्रदेश सरकार, मुख्यमन्त्री लगायतको भागबण्डा टुंग्याउने

काठमाडौं । एमाले र माओवादी केन्द्रद्धारा गठित पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । संयोजन समितिको बैठक दिउँसो तीन बजेका लागि बोलाईएको छ ।

बैठकले राष्ट्रिय सभा र प्रदेश सरकारमा दुई पार्टीबीचको बाँडफाँट औपचारिक रुपमा टुंग्याउने एमाले उपाध्यक्ष तथा संयोजन समितिका सदस्य वामदेव गौतमले जानकारी दिए । उनकाका अनुसार प्रदेश सरकार, मुख्यमन्त्री, सभामुख लगायत भागबण्डाका विषयमा सहमति भइसकेकाले आजको बैठकले अन्तिम रुप दिनेछ ।

यसअघि हिजो बालकोटस्थित अध्यक्ष ओली निवासमा भएको दुई अध्यक्ष ओली र दाहालबीचको छलफलले एकता संयोजन समितका लागि एजेन्डा तय गरेको हो । दुवै पार्टीको संयुक्त कार्यदलले राष्ट्रिय सभामा ४३ जना आफूहरुले जित्ने सुनिश्चित रहेको दावी गर्दै एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ उम्मेदवार भाग लगाएको छ ।

प्रदेश सरकार र प्रदेशसभाका मुख्य पदमा कुन दलले कति सिट पाउने भन्नेमा भने दुई दलबीच सहमति हुन सकेको छैन । राष्ट्रियसभा निर्वाचन अघि नै पार्टी एकता गर्ने गरी तयारी तीव्र पारिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्