रुवी भ्याली प्राकृतिक वरदान


रञ्जित धमला, 
रुवी भ्याली प्राकृतिक वरदान हो, यदि हामी त्यो ठाउँमा जीवनमा एकपल्ट पुगिएन भने पछुताउनु पर्छ । पर्यटनको अपार सम्भावना बोकेको आकर्षक पदमार्गका साथै पर्यटन गन्तव्य रुवी भ्याली । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीबाट उत्तरी क्षेत्रतिर पैदलयात्रा गर्दै जाँदा करिब ५ दिन लाग्छ भने, सवारीसाधनको प्रयोग गर्दा करिब २३/२४ घण्टा लाग्छ । समुन्द्री किनारबाट करिब ३,८५० मिटर उचाइसम्म रहेको रुवी भ्यालीले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ । उत्तरी सिमाना चीन, पश्चिम गंगाजमुना गाउँपालिका, दक्षिण खनियाँबास गाउँपालिका, पूर्व किस्ताङ नुवाकोट तथा पार्वतकुण्ड रसुवाको बीच भू—भागमा अवस्थित छ रुवी भ्याली ।
राजधानी काठमाडौंबाट अति नजिक हुँदा पनि बत्तीमुनीको अँध्यारो भएजस्तै पर्यटन प्रवद्र्धन र विकासको दृष्टिकोणले ओझेलमा परेको छ रुवी भ्याली । पर्यटन वर्ष २०२० मनाइरहँदा यस क्षेत्रलाई प्रवद्र्धन गर्न सकियो भने पर्यटनको विकासले अर्को इँटा पक्कै पनि थप्छ । प्रकृतिको वरदान, मनोरम दृश्य भएको यस स्थानलाई पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिन्छ ।


उत्तरी धादिङको पर्याप्त पर्यटकीय सम्भाव्यता बोकेको गणेश हिमाल क्षेत्र (रुवि भ्याली) कोे प्रमुख आकर्षणको बिन्दु हो । यहाँबाट गणेश हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । मौसम सफा हुँदा रुवी भ्यालीको पाङसाङबाट केन्द्रीय राजधानी काठमाडौंसमेत दृश्यावलोकन गर्न सकिन्छ ।
पर्यटनको लागि छोटो दूरी तीन दिनदेखि लामो दूरी २१ दिनसम्म पदयात्राको बनाउन सकिन्छ, रुवी भ्यालीलाई । हिन्दुङदेखि कालो दह र सेतो दहसम्म पुग्ने पदमार्ग निर्माणलाई पूर्णता दिनु आवश्यक छ । हिन्दुङदेखि दोब्रेडाँडासम्म पुग्ने पदमार्ग निर्माणलाई पूर्णता दिँदै कालो दह, सेतो दहदेखि गणेश हिमाल बेस क्याम्पसम्म पदमार्ग निर्माण गर्न आवश्यक छ । त्यसैगरी सेर्तुङदेखि सिङलासम्मको पदमार्ग निर्माण, लापा ठूलो गाउँदेखि माङनेपाससम्म पदमार्ग, खादिङ गणेशकुण्डहुँदै सेतो कालो दह र सेर्तुङ तातोपानीसम्म पनि पदमार्ग निर्माण गर्न आवश्यक छ । तिप्लिङदेखि पाल्दोर पिकसम्म पुग्ने पदयात्रा निर्माण, झार्लाङदेखि सिंलासम्म पुग्ने पदमार्ग र चालिसेदेखि तिरगाउँसम्म पुग्ने पदमार्गमर्मत गर्नु जरुरी छ । झार्लाङको तातोपानी ब्यवस्थापन तथा पदमार्ग निर्माणको पूर्णता, भ्यु पोइन्ट निर्माण गरी हिमालय, पहाड, गाउँबेसी, छहरा र तालतलैयाहरू अवलोकन गर्न सक्ने पूर्वाधार बनाउन सकिएमा यो क्षेत्रको पर्यटनले विशेष आकर्षक गन्तव्यको रूप लिन सक्ने प्रचुर सम्भावना छ । त्यस्तै दोब्रेडाँडा र सिङ्लामा पनि भ्यु टावर निर्माण गरी पर्यटकहरूलाई प्राकृतिक दृश्यावलोकनको आनन्द दिन सकिन्छ ।
रुवी भ्यालीलाई साँच्चै पर्यटन हब बनाउने हो भने पाँचवर्षे गुरुयोजना बनाउन आवश्यक छ । गुरुयोजनाअन्तर्गत सडकको ट्र्याक पहिलो आवश्यकता हो । रुवी भ्यालीमा सडकको ट्र्याक खोलेपश्चात् आवागमनमा सहज हुन्छ । प्रकृतिका अनुपम वरदान भएको गणेश हिमाल, गंगाजमुना, गौरीशंकरजस्ता दृश्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको ताँती लाग्न सक्छ । एक स्थानबाट अर्को स्थानसम्म पुग्न भौगोलिक कठिनाइ भोग्नु पर्दैन । सामान ओसारपोसारको लागि प्रयोग हुँदै आएको चांैरी र खच्चरको पनि विकल्प दिन सक्छ । यातायातको समस्याले खेप्दै आएको महँगी पनि कम हुन्छ । स्थलमार्गको अभावले गर्दा अहिलेको यातायातको अर्को विकल्प भनेको हेलिकोप्टर हो । जुन सामान्य मानिसको लागि सहज हुँदैन र धान्न पनि सक्दैन ।
राजधानीको नजिक रहेर बत्तीमुनिको अँध्यारो भनेझै रुवी भ्याली आज पनि उस्तै छ । यो दुःखद् कुरो हो । यस क्षेत्रको विकासको निम्ति स्थानीय र प्रदेश सरकारको प्रयासले मात्र सम्भव छैन । केन्द्रीय सरकारको ध्यान जानु जरुरी छ ।

शिक्षाको अवस्था
भौगोलिक विकटताका कारण भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अत्यन्त पछाडि परेको छ । यो गाउँपालिकामा धार्मिकसहित जम्मा २१ वटा विद्यालय सञ्चालित छन् । यसमध्ये आधारभूत प्राथमिक विद्यालय १५, निम्न माध्यमिक विद्यालय एक र माध्यमिक विद्यालयको संख्या ४ रहेका छन् ।
मुकापदेवि माध्यमिक विद्यालय बोराङ वडा नं.४, लापा माध्यमिक विद्यालय वडा नं. ५, डोङडेङदेवी माध्यमिक विद्यालय वडा नं. २, च्याम्म्रादेवी माध्यमिक विद्यालय वडा नं. ५ शेरतुङ गरी चार माध्यमिक विद्यालय र हिमालय सरस्वती निम्न माध्यमिक खादिङ वडा नं. ६, तिम्ला निम्न माध्यमिक विद्यालय वडा नंं. ६ तथा एक बौद्ध धार्मिक विद्यालय (साम्तेन चोलिङ गुम्पा) सञ्चालित छन् । ती विद्यालयहरूमा शिक्षक दरबन्दी जम्मा ३३ र राहत १३ गरी जम्मा ४६ शिक्षक ÷ शिक्षिकाले अध्यापन गराइरहेका छन् । त्यसमध्ये प्रावि.दरबन्दी ४, राहत ५ शिक्षक जना, मावि दरवन्दी २, राहत ५, हिमालय सरस्वती माविमा ११/१२ दुई जना अनुदानका शिक्षक छन् । ती विद्यालयहरूमा बालकक्षामा तीन सय जना, कक्षा १ मा २५७ जना, कक्षा २ मा २३० जना, कक्षा ३ मा २१८ जना, कक्षा ४ मा २२६ जना, कक्षा ५ मा १९८ जना, कक्षा ६ मा १७५ जना, कक्षा ७ मा १६९ जना, कक्षा ८ मा १४७ जना, कक्षा ९ मा १३७ जना, कक्षा १० मा १०७ जना र ११÷१२ करिब १०५ जना विद्यार्थी अध्ययनरत छन् ।
विशेषगरी तामाङ, घले, गुरुङ, विश्वकर्मा र नेवार जातिको बाहुल्य रहेको यस क्षेत्रका मानिसहरू प्राथमिकस्तरको शिक्षा भन्दामाथि तहहरूमा विद्यार्थी संख्या तुलनात्मक रूपमा कम भएको माथिको तथ्यांकले देखाउँछ । दोराङमा स्रोत तालिम केन्द्र्र भएता पनि स्रोतको अभावका कारण विद्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न प्राविधिक कठिनाइ छ । विद्यालयको संख्याअनुसार शिक्षक दरबन्दी न्यून छ । जनप्रतिनिधि नै नागरिकताको फर्म भर्न नसक्ने, हस्ते साइन गर्ने । सुरु भर्ना भएका विद्यार्थीहरूमध्ये एसईईसम्म पुग्ने विद्यार्थीको संख्या भने कम छ । अधिकांश बीचमा छोड्ने प्रवृत्ति रहेको छ भने अहिले पनि यस क्षेत्रमा अझै केही बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहका छन् । दुर्गम क्षेत्र भएकै कारण शिक्षक पनि त्यसको स्थानमा अध्यापन गर्न जान रुचाउँदैनन् । शिक्षकलाई तालिमको व्यवस्था छैन । त्यसको लागि राज्यले विशेष भत्ताको व्यवस्था गर्नु पर्दछ अनिमात्रै कर्मचारीले रोजाइ हुन सक्छ ।

रुवी भ्याली गाउँपालिका अध्यक्ष चुरुङ तामाङले चिसो र हिउँ पर्ने कारणले खानपान तथा लत्ता कपडाको पनि प्रबन्ध गर्न कठिन भएको बताए । प्राकृतिक स्रोतको धनी हुँदाहुँदै पनि आम्दानीको स्रोत बनाउन नसक्दा केही मानिसहरू अझै भोकभोकै मर्नुपर्ने अवस्था पनि छ । उनले भने, “आर्थिक अवस्थाकै कारण माध्यमिक शिक्षासमेत हासिल गर्न कठिन भएको छ, उच्च शिक्षा त सपना नै हो ।” सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा केही विद्यालय तथा गुम्बा खानेपानीको निर्माण भए पनि त्यो पर्याप्त नभएको अध्यक्ष तामाङको तर्क छ ।
पानीको स्रोत प्रशस्त भएकाले यहाँ विद्युतीकरणमा राज्यलाई जोड्न सक्नु विकासको अर्काे विकल्प हो । साना लघुविद्युत्ले पनि यहाँ राम्रो फाइदा लिन सकिने स्थिति छ । अर्काे विकल्प भनेको हेलियाड बनाउने र न्यूनतम रूपमा, धादिङबेसी–रुवी भ्याली हेलिकप्टर व्यवस्था गर्ने र हजारौंभन्दा बढी प्र्राकृतिक स्रोतको अनुपम भण्डार भएको यस क्षेत्रलाई पर्यटन गन्तव्य बनाउने अध्यक्ष तामाङको योजना छ ।
धादिङको बोराङदेखि तिप्लिङसम्म गाडी जान्छ तर त्यो पनि अत्यन्न जोखिम मोलेर जानुपर्ने गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर नेगीले बताए । वोराङदेखि शेरतुङसम्म चार करोड साबिकको ट्र्याक सफा गर्न प्रदेशले सरकारले वजेट छुट्ट्याएको टेन्डर प्रक्रियासमेत अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत नेगीले बताए । गाउँपालिकाको केन्द्र गणेश हिमाल रेन्जमा टुरिस्ट टे«ल छ । मान्छे हिँड्न मिल्छ तर यातायातका साधन चल्दैनन् । मानिस तथा सामान ओसारपोसार गर्न खच्चर चौंरी नै प्रयोग गर्ने गरिन्छ ।

एक किलो नुनको ६० रुपैयाँ
सुन्दा अचम्मको कुरो के छ भने धादिङमा २० रुपैयाँ पर्ने नुनको मूल्य रुवी भ्यालीमा ६० पर्छ । यो सवारीसाधनको अभाव र सबै भौगोलिक विकटताको उपज नै हो ।

नागरिकता प्रमाणपत्र वितरण
२०७० सालपछि यसै वर्ष गाउँपालिकाले मंसिर १, २ र ४ गते १६० लाई नागकिरता प्रमाणपत्र वितरण, अपांंगता परिचयपत्र १०९ जनालाई वितरण गर्न सफल भएको कार्यकारी अधिकृत नेगीले बताए ।

सुरक्षाको अवस्था
रुवी भ्यालीमा नेपाल प्रहरीले असईको नेतृत्वमा १२ जनाको सुरक्षाकर्मी तैनाथ छ । सेरतुङमा असईसहित ६ जना र लापामा हबलदारको नेतृत्वमा ६ ले यो भेगको सुरक्षा दिइरहेका छन् । नेपालमा चार तहको सुरक्षा संयन्त्रमध्ये नेपाल प्रहरीको मात्र त्यो पनि अत्यन्त सानो समूहले यहाँको सुरक्षामा खटिइरहेको छ । भौगोलिक विकटता भएको यस ठाउँमा एक स्थानबाट अर्को स्थानमा पुग्न करिब ५÷६ घण्टा लाग्छ । त्यो पनि जोखिम मोलेर जानुपर्ने हुन्छ, त्यहाँको शान्ति सुरक्षाको नेतृत्व लिएका नेपाल प्रहरीका असई किरण पोखरेल बताउँछन् । यहाँ बासिन्दाहरू अधिकांश समय मादक पदार्थ सेवन गर्ने हुँदा बढी झैझगडा र महिला हिंंसाका घटनाहरू बढी हुने उनको बुझाइ छ ।
सामान्य विवादमा पनि खुकुरी हानहान हुने तर त्यस्ता घटना लुकाइछिपाइ राख्ने गरेको प्रहरी पोखरेल बताउँछन् । घटना लुकाउने नै यहाँको मुख्य चुनौती हो । सुरक्षाकै कुरा गर्दा उत्तरी सीमा चीनसँग जोडिएको रुवी भ्याली त्यसमाथि प्राकृतिक रूपमा पाइने बहुमूल्य पत्थर तथा जडीबुटी अवैध रूपमा उत्खनन तथा ओसारपोसार रोक्नु अर्को चुनौती छ । जुन कुराको बारेमा राज्य बेखबर जस्तो छ । सुरक्षाको प्रबन्धलाई हेर्ने हो भने यस स्थानमा राज्यको उपस्थिति कमजोर देखिन्छ ।
सुरक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य शिक्षालगायत हरेक दृष्टिले रुवी भ्यालीमा राज्यको उपस्थिति कमजोर छ । पहरोमा खोपिएर बनाएको बाटो काहीँ तारबार लगाइएको त कतै छंगाछुर तल हेर्दा आंगै सिरिङ हुने खालका बाटा छन् । एक स्थानबाट अर्काे स्थानमा जान करिब ५÷६ घण्टा लाग्छ । त्यस्तो भौगोलिक विकटता भएको यस स्थानमा यति काम संख्याको प्रहरीले जनतालाई कस्तो सुरक्षाको प्रत्याभूति गर्ला ? विगतका दिनमा सुक्षालाई चुनौती दिंँदै धेरै घटना भएको नजिर पनि छँदैछ ।
मानिसको जीउज्यानको सुक्षालगायत यहाँका क्रिस्टल, रुवी, पाँचऔंले जटामसी, यार्शागुम्बा, नीरमसी, धुपीलगायत जडीबुटीको कारोबारलाई पनि प्रहरीले हेर्ने गरेको छ । तर सुक्षाकर्मीको कमीले गर्दा अपराधीको सञ्जालको कमी छैन भन्दा फरक पर्दैन ।

स्वास्थ्यको अवस्था
रुवीभ्यालीमा गायपालीकमा ३ हेल्प पोस्ट, ६ वटा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । तर प्रसूति गराउनसमेत दक्ष प्रविधि नभएको अवस्था छ । महिनामा ३, ५ सुत्केरीको अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अहिले पनि विद्यमान छ ।
विकास योजना ः सडक सञ्जाल जोड्न प्रदेश सरकारले केही पहल गरेको तर डीपीआर तयार दुई अर्ब बजेट आवश्यक पर्छ । समृद्ध नेपालको खाका कोरिरहेको सरकारले यस क्षेत्रलाई सडक सञ्जालमा ट्र्याक खोल्न पहिलो आवश्यकता हो ।
यसको विकासलाई सार्थकता दिनको भौतिक पूर्वाधार विकाससँगै प्रचारप्रचारका लागि पासाङमा सूचना केन्द्र खोल्ने, म्याराथन दौड गर्ने र जित्नेलाई रु..एक लाखको पुरस्कार व्यवस्था गर्नुपर्छ । यसको लागि जिल्ला समन्वय समिति, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले समन्वयकारी भूमिका आवश्यक छ । गणेशकुण्ड धर्मशाला निर्माण, तातोपानी सेर्तुङ, सेतोदह कालोदह क्षेत्रमा बसोबासका लागि स्तरीय होटेल निर्माण गरी यसलाई देशको एउटा नमुना पदमार्ग क्षेत्र बनाउन सकिन्छ । त्यसैगरी गणेश हिमाललाई आरोहणको लागि प्रवद्र्धन गर्न नसके यसलाई धार्मिक रूपमा प्रवद्र्धन गरी होली हिमालको रूपमा विकास गर्न सक्नु पर्दछ । गणेश हिमाल आरोहणका प्राविधिक समस्यालाई समाधान गरी यातायात, पदमार्ग विकास गर्न खाँचो छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्न प्रचारप्रसारको आवश्यक छ । सहज पदमार्ग निर्माण गरी प्रचारप्रसार गर्न नसकिएकाले यो अहिले ओझेलमा परेको छ । होम स्टे, फार्म ट्रिपजस्ता पर्यटन प्याकेजहरूलाई व्यवसायीकरण गर्न सकिने सम्भावना देखिन्छ । स्रोत साधनलाई उपयोग गरेमा यो कार्य सम्भव छ । यसले पर्यटन वर्ष २०२० लाई पनि सफल बनाउन ठूलो टेवा पुग्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्