बलात्कारका अभियुक्त सिद्धबाबा कारागार चलान

काठमाडौं , फागुन २० । बलात्कारका अभियुक्त सिद्धबाबा कारागार चलान भएका छन् ।
सुनसरीको चतराधामस्थित आश्रममा महिला अनुयायी बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।

उच्च अदालत विराटनगरले कारागार चलान गर्ने फैसला गरे लगत्तै फरार रहेका सिद्धबाबा आज जिल्ला अदालत सुनसरीमा हाजिर भएका थिए ।मंगलबार बिहान १२ बजेतिर उनी जिल्ला अदालत इनरूवा उनलाई अदालतले थुनुवा पूर्जी दिएर झुम्का कारागार पठाएको हो । अदालतमा उपस्थित हुने क्रममा उनले आफु औषधि उपचारका क्रममा भारतमा गएको र फैसलाको सम्मान गर्दै अदालतमा हाजिर भएको प्रतिक्रिया दिए ।

कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।
सुरुमा जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो । उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्