३ नेपालीमा कोरोनाको लक्ष्यण, चीनपछि इरानको अवस्था भयाभह

काठमाडौं , फागुन १७ । इटालीबाट फ्रान्स हुँदै पोर्चुगल हिडेका ३ नेपालीमा कोरोना भाइरसको लक्षण देखिएको छ ।कोरोनाको लक्ष्यण देखिएपछि उनिहरुलाई फ्रान्समै रोकेर क्वारेन्टाइनका लागि परिक्षण शुरु गरिएको छ।अस्पतालमा गरिएको प्रारम्भिक परिक्षण रिपोर्टमा उनीहरुमा भाइरस पुष्टि भएको छैन ।

यद्यपी पूरा रिपोर्टपछि मात्रै कोरोना हो या हैन भन्ने थाहा हुने फ्रान्सेली स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्नै त्यहाँको प्रहरीले जनाएको छ ।इटाली बाट अवैध तरिकाले फ्रान्सको पेर्पिग्न्यों शहर प्रवेश गरेका ३ जना नेपालीहरुको अहिलेसम्म परिचय खुलाईएको छैन ।

यसैबीच कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ ।
डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी अझ ठूलो चुनौतीको रुपमा खडा भएको जनाएका छन् ।विश्वका ५० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २८ सय मानिसको मृत्यु भएको छ भने ८३ हजार भन्दा बढी संक्रमित भएका छन् ।मृत्यु हुनेमा २७ सय ९१ जना चिनियाँ नागरिक छन् । चीनमा संक्रमित हुनेको संख्या ७८ हजार ९ सय ६१ छ ।

चीनपछि इरानको अवस्था भयाभह

कोरोना भाइरसको प्रकोप चीनपछि इरानमा भयाभह देखिएको छ । बीबीसीका अनुसार कोरोनाका कारण इरानमा २ सय १० जनाको मृत्यु भएको छ । यो संख्या इरानको आधिकारिक तथ्यांक भन्दा कयौंले बढी हो ।ज्यान गुमाउने तथा कोभिड–१९ बाट संक्रमित हुने अधिकांश राजधानी तेहरानका छन् । यस्तै कोम शहरमा पनि संक्रमितको संख्या धेरै रहेको जनाइएको छ ।इरानले भने अहिलेसम्म आधिकारिक रुपमा कोरोना भाइरसका कारण ३४ जनाको मात्रै मृत्यु भएको बताउँदै आएको छ ।

दक्षिण कोरियामा २९ सय भन्दा बढी संक्रमित

दक्षिण कोरियामा एकै दिन ५ सय ९४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।योसँगै त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या २९ सय ३१ पुगेको छ । अहिलेसम्म कोरोनाकै कारण दक्षिण कोरियामा १६ जनाको मृत्यु भएको छ ।

इटलीमा पनि अवस्था उस्तै

इटलीमा पनि कोरोनाले महामारीको रुप लिएपछि नाजुक अवस्था सृजना भएको छ ।शुक्रबार थप ४ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । संक्रमितको संख्या पनि बढेको छ । यसअघि ६ सय ५० जना संक्रमित भनिएकोमा यो संख्या बढेर ८ सय २१ पुगेको छ ।

कोरोनाको संक्रमण बढेपछि १२ वटा शहरमा आवातजावत नै बन्द गरिए पनि महामारी रोकिन नसकेपछि रोकथामका अरु उपायहरु खोजी भइरहेको इटली सरकारले जनाएको छ ।अन्य युरोपेली मुलुकहरुमा पनि कोरोनाको संक्रमण देखा पर्न थालेपछि सम्बन्धित देशका स्वास्थ्य अधिकारीहरुले सघन छलफल थालेका छन्।

जापानमा पनि कोरोनाले महामारीको रुप लिएपछि एक महिनालाई शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । यस्तै विश्व स्वास्थ्य संगठनले सबै देशमा फैलने भन्दै आवधानी अपनाउन आग्रह गरेको छ । नेपाल पनि उच्च जोखिमा रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्