बाँस्कोटाले भ्रष्टाचार गरेको प्रमाणित छैन, ‘प्रमाणित भयो भने उहाँले दोषअनुसारको सजाय भोग्नुहुन्छ ’ : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको टेप प्रकरणबारे मुख खोलेका छन्।बिहीबार राजधानीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्ष समेत रहेका ओलीले कमिसन प्रकरणलाई लिएर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बाँस्कोटाले घुस लिएको भन्ने व्यहोराको अडियो पोख्त प्रमाण नभएको बताए् ।सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापनको ठेक्का सम्झौता गर्न ठेकेदारसँग कमिसन मागेको अडियो भनिए पनि उक्त विषय प्रमाणित भइ नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले अहिले अडियोबारे बुझ्ने काम भइरहेको बताए ।

‘उक्त अडियो पूर्ण रुपमा प्रमाण हो कि हैन भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ । उहाँ (बाँस्कोटा)ले घुस मागेको विषय अहिले नै प्रमाणित भइसकेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रमाणित भयो भने उहाँले दोषअनुसारको सजाय भोग्नुहुन्छ ।’

बास्कोटाले उक्त अडियो आफ्नो नभएको भन्ने जवाफ दिएको पनि ओलीले सुनाए । ‘कोही अनाडी मान्छेले अनाधिकृत ढंगले टेप सार्वजनिक गरेको हो, बाँस्कोटाले मेरो आवाज होईन भन्नुभएको छ । भ्रष्टाचार गरेको प्रमाणित छैन,’ प्रधानमन्त्री ओलीले भने ।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो केही दिनअगाडि सार्वजनिक भएको थियो।

अडियो सार्वजनिक भएपछि दुई अध्यक्षको निर्देशनपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। बाँस्कोटाको सोही टेपको कार्यकर्ताबीच प्रधानमन्त्री ओलीले बचाउ गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्