हिंसाको आगोमा जल्दैं दिल्ली : ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो

काठमाण्डौ , फागुन १५ । दिल्लीमा हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ३५ पुगेको छ । भने गएको चार दिनदेखि उत्तर–पूर्वी इलाकामा भइरहेको हिंसामा सयौँ घाइते भएका छन् ।हिंसाको आगोमा जलिरहेको दिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता कानुनको विपक्षमा प्रदर्शन चलिरहेको छ । प्रदर्शन चर्कँदै जाँदा हिंसाले उग्र रुप लिएको छ ।

बिहीबार गगनपुरीमा रहेको एक नालीमा दुई वटा शव भेटिएको छ । गएको बुधबार पनि खजूरी खासको नालीमा आईबी अधिकारी अंकित शर्माको शव भेटिएको थियो । दिल्लीको दङ्गाग्रस्त इलाकामा अझै पनि तनाव छ । गएको बुधबार राति पनि हिंसाका घटनाहरु घटेका छन् ।

प्रदर्शनकारीहरुले ज्योतिनगरमा अशोक नगर फ्लाइओभर नजिक मोटरसाइकल जलाएका छन् । जाफराबाद, मौजपुर, चान्दबाग, गोकुलपुरी र आसपासको इलाकामा शान्ति देखिए पनि अझै डर र त्रासको वातावरण छ । धेरै पसलहरु बन्द छन् भने ढोका र झ्यालमा हिंसाको निसाना देख्न सकिन्छ ।

हिंसा रोक्नको लागि सुरक्षाबलले प्रभावित इलाकामा मार्चपास पनि गरेका थिए । उत्तर–पूर्वी इलाकामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ छन् । यो इलाकामा सयभन्दा धेरै दमकल तैनाथ गरिएको अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसरी हिंसाले उग्ररुप लिएपछि त्यहाँको विपक्षीदलले गृहमन्त्रीको राजिनामा माग गरेका छन् । साथै सरकारको पनि कडा आलोचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्