प्रदेशसभा सदस्यको शपथ आइतबार, यसरी गरिँदैछ तयारी

काठमाडौं ।नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी सुरु भएको छ । प्रदेशसभा सदस्यको आइतबार बिहान शपथ गराउनेगरी प्रदेश प्रमुखहरु शनिबार आआफ्नो कार्यस्थल पुग्दैछन् ।

निर्वाचन आयोगले शुक्रबार नै प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य चुनावको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझेलगत्तै प्रदेश प्रमुखहरू आआफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा जुटेका हुन् ।

आयोगले आउँदो २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि आइतबार नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । त्यसैले आइतबार बिहान ११ बजेसम्म प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ गराउने तयारी छ । प्रदेशसभा पहिलो बैठक बसेको २० दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

बैठकले मुख्यमन्त्री र प्रदेश सरकार चयन गर्नेछ । सामान्य प्रशासन मन्त्रालयले प्रदेश प्रमुखको कार्यालयमा जति सक्दो चाँडो कर्मचारी पठाउने तयारी गरेको छ । प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि आइतबारसम्म कर्मचारी पठाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । एउटा प्रदेशमा सहसचिवको नेतृत्वमा २५ जनाको दरले १७५ जना कर्मचारी जानेछन् । सरकारले गएको बुधबार सातवटै प्रदेशमा प्रमुख र अस्थायी राजधानी तोकेको थियो ।

प्रदेश नम्बर १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरालाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश नम्बर ७ मा मोहनराज मल्लले प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन् । काठमाण्डूमा शपथ लिएका प्रदेश प्रमुखहरु अब आ–आफ्नो प्रदेशको राजधानी जाने छन् ।

यसैबिच सातवटै प्रदेश प्रदेशको अस्थायी राजधानीमा प्रदेश प्रमुखको स्वागतका लागि तयारी भइसकेको छ । प्रदेश नम्बर १ को मुकाम विराटनगरमा क्षेत्रीय पशुसेवा निर्देशनालयको भवनमा प्रदेश प्रमुखको कार्यालय बनाएर रंगरोगन सुरु गरिएको छ । दुई नम्बर प्रदेशमा जनकपुरको शहरी तथा भवन डिभिजन कार्यालयको भवनमा प्रदेश प्रमुखको कार्यालय राख्ने तयारी छ । क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा ३ नम्बर प्रदेशका प्रमुखको कार्यालय राखिने छ ।

पोखराको अध्यागमन कार्यालय वा क्षेत्रीय प्रशासन कार्यालय मध्ये एक ठाउँमा ४ नम्बर प्रदेशका प्रमुखको कार्यालय बनाइएको छ । बुटवलको सीप विकास केन्द्र, राजश्व अनुसन्धान केन्द्र वा उद्योग व्यापार संघको भवनमध्ये एक ठाउँमा प्रदेश प्रमुखको कार्यालय बनाउने तयारी छ । सुर्खेतको क्षेत्रीय वन निर्देशनालय तालिम केन्द्रमा प्रदेश प्रमुखको कार्यालय बनाइएको छ । ७ नम्बर प्रदेशमा भने प्रदेश प्रमुखको कार्यालय भवनको खोजी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्