सुरक्षा रणनीति परिवर्तन गर्ने अमेरिकाको संकेत, रुस र चीन जस्ता प्रतिस्पर्धीमा केन्द्रित

काठमाडौं । अमेरिकाले आफ्नो रक्षा रणनीति परिवर्तन गर्ने संकेत गरेको छ ।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाले अब आफ्नो ध्यान चरमपन्थीविरुद्ध लड्नुको सट्टा रुस र चीन जस्ता प्रतिस्पर्धी मुलुकसँग लड्ने क्षमता विकास गर्ने बताएका छन् ।

राजधानी वासिङ्टनमा गरिएको एक कार्यक्रममा रक्षामन्त्री म्याटिसले अमेरिकी सुरक्षाका लागि रुस र चीन बढ्ता खतरा भएर आएको बताएका हुन् ।

उनले रुसप्रति संकेत गर्दै कुनै पनि मुलुकले अमेरिकाको लोकतान्त्रिक प्रक्रियाका बारेमा चिन्ता लिनु नपर्ने बताए ।

उनले कसैले पनि अमेरिकालाई चुनौती दिएमा उसका खराव दिन शुरु हुने चेतावनी दिए ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको आरोप लागेपछि दुई मुलुकबीच आरोप प्रत्यारोप चलिरहेको छ ।

रक्षामन्त्री म्याटिसले अमेरिकी सेनालाई पर्याप्त बजेट विनियोजन गर्न संसद्लाई अपीलसमेत गर्नुभएको छ । उनले सेनाको बजेट कटौती गर्न नहुने बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष सक्षा बजेटमा १० प्रतिशत वृद्धि गर्ने चाहना राखेका छन् । त्यसका लागि अरु मुलुकलाई दिइने गरेको रकम कटौती गर्नसमेत तयार रहेको बताएका छन् ।

अमेरिकी सेनाको बजेट थप गर्ने राष्ट्रपतिको चाहनालाई अमेरिकी सुरक्षा नीतिमा परिवर्तनको संकेत भएको विश्लेषकहरुले औंल्याएका छन् ।

अमेरिकाले अहिले चरमपन्थीका विरुद्ध लड्न ठूलो बजेट खर्च गर्दै आएको छ । अमेरिकी सेनाले अफगानिस्तान, इराक र सिरियामा चरमपन्थी विरोधी अभियान सञ्चालन गर्दै आएको छ ।

तर अब अमेरिकी सेनाले रुस र चीन जस्ता परम्परागत प्रतिद्वन्द्वीको सामना गर्न आफूलाई मजबुद बनाउने प्रयास शुरु गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्