वीरगन्जबाट २७ लाख नगदसहित ४ जना हुण्डी कारोबारी पक्राउ
काठमाडौं, फागुन १३ । वीरगन्जबाट २७ लाख नगदसहित ४ जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।
पर्सा प्रहरीले फरक फरक समयमा गरी स्रोत खुल्न नसकेको झन्डै २७ लाख रुपैयाँसहित ४ जना व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु हुण्डी कारोबार रहेका खुल्न आएको बताएको छ । पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरीया १ घर भइ वीरगन्ज–१६ नगवा बस्दै आएका ४१ वर्षीय संजय कुमार साह र वीरगन्ज महानगरपालिका–१६ बस्ने ३० वर्षीय जयलाल महतो छन् । प्रहरीका अनुसार संजय कुमार साहको साथबाट नगद ९ लाख ७१ हजार र जयलाल महतोको साथबाट नगद १० लाख रुपैयाँ बरामद भएको थियो ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट सोमबार २ जनालाई नगद १९ लाख ७१ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।उनीहरु बा ४८ प ६५९७ नम्बरको मोटरसाइकलमा वीरगन्जतर्फ आउँदै थिए ।
यस्तै, मंगलबार पनि नगद ७ लाख रुपैयाँसहित २ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१६ भन्सार कार्यालयको गेटबाट फरक फरक मोटरसाइकलमा रक्सौलबाट नेपालतर्फ आउँदै गरेका २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको रक्सौल डुमरिया घर भएका ३५ वर्षीय विजय कुमार ठाकुर र वीरगन्ज–१६ नगवा बस्ने ३१ वर्षीय राजु कुमार कलवार छन् । भारतीय नम्बर प्लेट बीआर–०५–एए–७२५५ को मोटरसाइकलमा रक्सौलबाट नेपालतर्फ आइरहेका ठाकुरसको साथबाट ४ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, भारतीय नम्बर प्लेट बीआर–०५–डी–५०१८ को मोटरसाइकलमा सवार राजु कुमार कलवारको साथबाट ३ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले फरक–फरक समय तथा ठाउँबाट स्रोत नखुलेको नगदसहित पक्राउ परेका चारै जनाविरुद्ध अवैध वित्तिय कारोबार (हुण्डी) शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्