प्रधानमन्त्री ओली जन्मदिन मनाउन जन्मथलो प्रस्थान

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिन मनाउन आफ्नो जन्मथलो तेह्रथुमको आठराईमा प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, प्रधानमन्त्री ओली बिहान ९ बजेपछि तेह्रथुम प्रस्थान गरिएको छ । ।

प्रधानमन्त्री ओलीको जन्मघर साविकको इवा गाविस २ खानीगाउँ हो । हाल राज्य पुनर्संरचनापछि यो ठाउँ आठराई गाउँपालिका ४ मा पर्दछ । प्रधानमन्त्री ओली आउने खबरले गाउँमा निकै चहलपहल बढेको छ ।

प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी कार्यक्रमको चाँजोपाँजो मिलाउन केही दिन अगाडिदेखि नै आठराईमा गएका थिए ।

प्रधानमन्त्री ओली पाँचथर हुँदै जन्मथलो पुग्ने छन् । प्रधानमन्त्री आएको मौका पारेर आठराईबासीले बिभिन्न कार्यक्रमसमेत आयोजना गरेका छन् । ती कार्यक्रमहरुमा ओली सहभागी हुने छन् ।

प्रमुख स्वकीय सचिव भण्डारीका अनुसार आठराई पुग्नुअघि प्रधानमन्त्री ओली सुरुमा पाँचथरको खानेपानी उद्घाटन कार्यक्रममा सहभागी हुने छन् ।

आठराई पुगेपछि प्रधानमन्त्री ओलीले सुकेपोखरी–ढुंगेसाँघु सडकको शिलान्यास र नेपाल बैंक शाखाको उदघाटन गर्नेलगायत कार्यक्रम छ ।

त्यसपछि गाउँले साथीभाइहरुसँग बसेर जन्मदिन मनाउने कार्यक्रम निर्धारण गरिएको प्रमुख स्वकीय सचिव भण्डारीले बताए ।
प्रधानमन्त्रले आफ्नो आफ्नो ६९ औं जन्मदिनको अवसरमा आयोजना उद्घाटनदेखि कार्यकतालाई भेटघाट गरेरे मनाउने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ ।

प्रधानमन्त्रीकाे स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आङ्गिकसहित दुई वटा क्याम्पस र नाै वटा माविसहित ५८ वटा विद्यालय छन्

प्रतिक्रिया दिनुहोस्