बाँस्कोटामाथि छानबिन गर्न माग गर्दै नेविसंघको प्रदर्शन, दर्जनौं कार्यकर्ता घाइते

काठमाडौं, फागुन ९ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई छानबिन गर्न माग गर्दै नेपाल विद्यार्थी संघ(नेविसंघ)ले आज प्रदर्शन गरेको छ।शुक्रबार राजधानीका विभिन्न ठाउँमा प्रदर्शन गरेको नेविसंघको जुलुस प्रदर्शनी मार्गमा आएर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा प्रहरीले दमन गरेको थियो । यसरी प्रहरीले गरेको दमनप्रति नेविसंघ अध्यक्ष राजीव ढुंगानाले आपत्ति जनाउँदै आफूहरूले शान्तिपूर्ण रूपमा प्रदर्शन गरेता पनि प्रहरीले लाठीचार्ज गरेकोप्रति उनले विरोध जनाए।

बिहीबार प्रहरी र नेविसंघका कार्यकर्ताबीच झडप हुँदा दर्जनौं नेविसंघका कार्यकर्ता घाइते भएका थिए।
कोणसभामा बोल्दै महामन्त्री दीपक भट्टराईले भ्रष्टाचारी छोड्ने नजिर बसेको भन्दै प्रधानमन्त्रीले नै छानबिनका लागि सहयोग गर्नुपर्ने बताए ।

यसअघि बालुवाटार प्रकरणमा पनि भ्रष्टाचारीलाई छाडिएको भन्दै यो प्रकरणमा पनि सरकार चुप लागेर बस्न नहुने उनको भनाइ रहेको थियो । ‘भ्रष्टाचारीलाई नै छाड्ने नजिर बसेको छ। त्यसैले यो प्रकरणमा प्रधानमन्त्रीले नै छानबिनका लागि सहयोग गर्नुपर्छ’, उनले भने।

बाँस्कोटाले राजीनामा दिएरमात्र नपुग्ने भन्दै उनलाई कानुनी दायरमा ल्याइ छानबिन गर्नुपर्ने उनले बताए। सो प्रकरणको अडिओ दुई महिनाअघि नै प्रधानमन्त्रीले पाएको सञ्चार माध्यममा आएको भन्दै प्रधानमन्त्रीले यसबारे बोल्नुपर्ने उनको माग छ।

प्रतिक्रिया दिनुहोस्