म्याग्दी नदीमा जीप खस्यो, चालक घाइते, यस्तो छ अवस्था

काठमाडौं, फागुन ९ । म्याग्दी नदीमा जीप खसेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारबाट बगरफाँटतर्फ जाँदै गरेको जीप शुक्रबार दिउँसो पाती चढाउनेको भीरबाट म्याग्दी नदीमा खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिपका चालक बागलुङको काठेखोला गाउपालिका–४ लेखानी घर भई हाल बेनी(२ बगरफाँट बस्ने ३६ वर्षीय डम्मर श्रिस घाइते भएका प्रहरीले जनाएको छ । घाइते खतरामुक्त भएको बेनी अस्पतालले जनाएको छ।

दिउँसो करिब ३ बजे बेनी नगरपालिका-२ को पाती चढाउनेमा ग. १ ज ६७९८ नम्बरको टाटासुमो जिप भीरबाट म्याग्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।  तीब्र गतिमा गुडेको जिप पाती चढाउनेको डिलबाट म्याग्दी नदीको झोलुङ्गे पुलको लठ्ठा छिनालेर नदीमा खसेको प्रत्यक्षदर्शी हिराबहादुर कुवँरले बताए।

सडकबाट करिब पचास मिटर तल खसेको जिपको पछाडीको पूरै भाग म्याग्दी नदीमा डुबेको थियो भने चालक बस्ने अगाडिको भाग डुबेको थिएन्। स्थानीयबासी र प्रहरीले चालक तत्कालै उद्धार गरेर बेनी अस्पतालमा लगेका थिए।

जिपमा सवार चालक एक्लै थिए। बेनी(पोखरा रुटमा चल्ने चालक गाडी लिएर डेरातर्फ जाँदै थिए। सडकमा तीब्र गतिका कारण अतियन्त्रित भएर खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस्