आफैंले चलाएको स्कुटरबाट लडेर एक जनाको मृत्यु, दैलेखमा चट्याङ लागेर दुईजना घाइते

काठमाडौं, फागुन ९ । पोखरामा आफैंले चलाएको स्कुटरबाट लडेर एक जनाको मृत्यु भएको छ।
पोखरा-११ फूलबारीमा ग १६ प ५५२२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनाबाट चालक भोजपुर रामप्रसाद गाउँपालिका ८ वार्षिखोडा घर भई हाल पोखराको फूलबारीमा बस्ने ३० वर्षका काइँला राई (राजकुमार)को मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते राईलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको थियो।

यसैबीच उता दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजे नारायण नगरपालिका–१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा घाइते भएका हुन् ।

चट्याङको झिल्कोले बायाँ हातमा थोरै चोट लागेको सार्कीको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

यस्तै गुराँस गाउँपालिका– ८ लालिकाँडा नन्दराम खड्काकी नातिनी १८ वर्षीया सपना खड्का चट्याङ पर्दा घाइते भएकी छन् । उनलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले बताएको छ । आज देशभरको मौसममा बदली भएको छ । उता हुम्लामा हिमपातले त्यहाँको जनजिवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्