छ महिनादेखि भारतमा बन्धक रहेका दुई नेपाली चेलीको उद्धार

काठमाडौं, फागुन ९ । पछिल्लो समय वैदेशिक रोजगारको प्रलोभनमा परेर धेरै नेपाली चेलीहरु विदेशमा बन्धक हुन बाध्य रहेका छन् । यसैबीच ६ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको बिहीबार राति उद्धार गरिएको छ ।

पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

आफ्ना छोरीलाई बन्धक बनाई राखिएकाले उद्धार गरिदिनु भन्ने युवतीकी आमाको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान पनि चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । “युवती लैजाने राई थरकी महिला र अन्य संलग्नहरुको खोजी भइरहेको छ”, उनले भने ।

उद्धार गरिएका युवती नवलपरासीको बर्दघाटका एकै घरका दिदीबहिनी हुन् । एक महिलाले पसलमा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा पारी भारत लगेको तर त्यहाँ कोठामा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक यातना दिने, अर्केष्ट्रामा नाच्न लगाउने र घरमा आउनसमेत नदिएपछि उनीहरुले घरमा खबर गरेको युवतीकी आमाले बताइन् ।

यसरी कयौं नेपाली चेली विदेशमा बन्धक हुन बाध्य रहेका छन् । पछिल्लो समय यस्ताको उद्दा पनि भइरहेको माइती नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्