राजीनामा गराउन प्रचण्डको सुझाव, ओलीले बोलाए सिधै बाँस्कोटालाई बालुवाटार
काठमाडौं, फागुन ८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछि उनलाई राजीनामा गराउन नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् ।
विहीवार(आज) विहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डले कमिसन माग गरिएको अडियो सार्वजनिक भएका कारण मन्त्री बाँस्कोटालाई राजनीनामा गराउन ओलीलाई सुझाव दिएका हुन् ।
प्रचण्ड निकट स्रोतले भन्यो,‘मन्त्रीलाई राख्ने वा हटाउने अधिकार प्रधानमन्त्रीको हो तर विवादमा तानिएका कारण गोकुलजीलाई राजीनामा गर्न लगाउँदा उपयुक्त हुने सुझाव अध्यक्ष प्रचण्डले दिनुभएको छ ।’
प्रचण्डसँगको भेटसँगै प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई पनि बालुवाटार बोलाएका छन् ।कञ्चनपुरमा रहेका मन्त्री बाँस्कोटालाई सोझै बालुवाटार आउन प्रधानमन्त्रीले निर्देशन दिएको बालुवाटार निकट स्रोतको भनाइ छ ।
‘अडियो सार्वजनिक भएसँगै प्रधानमन्त्रीज्यूले मन्त्री बाँस्कोटाका कुरा पनि सुन्नुहुनेछ, प्रधानमन्त्रीसँगको छलफलपछि उहाँको निर्देशन अनुसार मन्त्री अघि बढ्नुहुनेछ ।’
यसैबीच सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढीको डिल गरेको दावीसहितको अडियो बाहिरिएपछि संसदको सार्वजनिक लेखा समिति बैठकमा हंगामा भएको छ ।
समितिको आजको बैठकले प्रिन्टिङ प्रेस खरिदसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गर्दैगर्दा त्यसअघि नै अडियो बाहिरिएपछि हंगामा भएको हो ।
प्रतिक्रिया दिनुहोस्