उपराष्ट्रपति पुनद्वारा भेरी बबई आयोजनाको निरीक्षण, अहिले सम्म कति भयो निर्माण कार्य ?

काठमाडौं, फागुन ७ । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध तथा व्यारेज निर्माणस्थल निरीक्षण गरेका छन्। उद्योग वाणिज्य संघ सुर्खेतको आयोजनामा भएको दोस्रो कर्णाली एक्स्पोको उद्घाटनका लागि यहाँ आएका पुनले मंगलबार साँझ भेरि नदीको चिप्लेमा निर्माण हुन लागेको व्यारेजको निरीक्षण गरेका हुन्।

चिप्लेबाट बबई नदीसम्म १२ किलोमिटर लामो सुरुङमार्फत् भेरीको पानी बबईमा पुर्‍याइँदैछ। आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसकेको छ। सुरुङमार्फत् भेरीको पानी बबईमा पु¥याएर ४६ मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने र सो पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीन सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ।

त्यसअवसरमा आयोजनाका निर्देशक सञ्जीब बरालले आयोजनाको काम तीव्रगतिमा अघि बढिरहेको जानकारी दिए। उनले आर्थिक वर्ष २०६९÷८० सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको र हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको बताए।

उपराष्ट्रपति पुनले राष्ट्रिय गौरवको भेरी बबई आयोजनालाई नमूना आयोजनाको रुपमा विकास गर्न ध्यान दिनुपर्ने बताए। उनले आयोजनाको सुरुङ निर्माण सम्पन्न लगायतका प्रगतिमा खुसी व्यक्त गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न सबैले इमान्दार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्