प्रतिनिधिसभा बैठकको शून्य समय : कसले के भने ?
काठमाडौं , फागुन ६ । आजको प्रतिनिधसभाको बैठकमा सांसदहरले आ आफ्नो धारण राखेका छन् । शून्य समयमा बोल्ने सांसदहरूले समसामयिक वियषयमा आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद अमरेशकुमार सिंहले उखु किसानहरूले भुक्तानी नपाएको कुरा पटक–पटक उठे पनि अझसम्म भुक्तानी पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उद्योग मन्त्रालयमा भएको सहमति अझै कार्यान्वयन नभएको भन्दै उनले सरकार किसान र जनता को हो कि ? बिचौलिया र दलालको को हो ? भन्दै प्रश्न गरे । उनले चाँडै किसानहरूको भुक्तानी दिन सरकारको ध्यानाकर्षण गराए ।
सांसद अतहर कमाल मुसलमानले संसदभित्र धर्मका विषयमा टिकटिप्पणी नगर्न आग्रह गरे । जनताबाट निर्वा्चित जनप्रतिनिधिले सदनभित्र विभिन्न धर्मका मत प्राप्त गर्ने र ती धर्मबारे टिकाटिप्पणी गर्दा सदनको गरिमामा आँच आउने भएकाले धर्मका विषयमा अनावश्यक विवाद र बहस नगर्न आग्रह गरे ।
सांसद इन्दुकुमारी शर्माले सरकारी कार्यालयमा माथिल्लो दर्जाका कर्मचारीले तल्लो दर्जालाई गर्ने व्यवहार सामन्ती सरकारको जस्तो भएको टिप्पणी गरिन् । आफू मातहतका कर्मचारीलाई हेपाहा प्रवृत्तिका भाषा प्रयोग नगर्न पनि उनले आग्रह गरिन् ।
सांसद अमृता थापाले सरकारले छाउगोठ भत्काउने अभियान सुरु गरेको प्रति आभार व्यक्त गर्दै छाउप्रथा, बोक्सीप्रथालगायत महिला हिंसा भेदभावको भित्री कारण खोजेर मनको गोठ भत्काउने अभियान थाल्नुपर्ने बताइन् । उनले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा समाचारमा आएपछि मात्रै सरकारले थाहा पाउने गरेको भन्दै दुःख व्यक्त गरिन् ।
सांसद उमा रेग्मीले सरकारको दुईवर्षे कार्यकाल पूर्ण असफल भएको बताइन् । दुई वर्षमा सरकारले कुनै ठोस कार्यक्रम देखाउन नसकेको भन्दै उनले सरकारको प्रशंसा गरेर समाचार नछापेको भन्दै सञ्चारामध्यमलाई थर्काउने काम भएकोमा रोष प्रकट गरिन् । “आफैं बालुवाटारमा बाँसुरी बजाउने अनि किन छाप्यौ भनेर थर्काउने ?” उनले प्रश्न गरिन् ।
सांसद कलिला खातुनले काठमाडौं महानगरपालिका २२ सुन्धारा छेउमा रहेको सरकारी जग्गा एक सय वर्षदेखि मुस्लिम समुदायले प्रयोग गर्दै आएकामा अहिले त्यहाँको जग्गा बिचौलियाहरूले व्यक्तिका नाममा दर्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । विसं. “२००२ सालमा मस्जिद बनाएर मुस्लिम समुदायले प्रयोग गरिरहेको जग्गा अहिले कसरी व्यक्तिको नाममा आयो ?” उनको प्रश्न थियो ।
सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि व्यंग्य गरे । उनले भने, ‘कुमार जी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि अब उप्रान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू थाहा पाइहाले होइन होइन भन्नू । चित्त बुझाउन नसके अफ्ठ्यारो पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र २ पटक विष्णु विष्णु भन्नू । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियार पुराणे कुमार विष्णु संवादे श्री स्वस्थानी कथाले बालुवाटार प्रकरण वर्णायम् प्रथम अध्याय धन्यवाद’ ।
सांसद खगराज अधिकारीले पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका क्रममा अधिग्रहण गरिएको थप जग्गाको मुआब्जाका विषयमा धारणा राखे । सांसद खेमप्रसाद लोहनीले बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रको जग्गाको मुआब्जा निर्धारण सरकराले गरे पनि आरूघाट खहरेलगायत स्थानीयले मूल्यको एकचौथाइ पनि नपाएको भन्दै विरोध गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले मुआब्जा पुनर्निर्धारण गरी जनताका माग सम्बोधन गर्न आग्रह गरे ।
सांसद जुलीकुमारी महतोले जनकपुर र भैरहवामा भएका सामूहिक बलात्कारका घटनामा पक्राउ परेका दोषीलाई कडा कारबाहीको माग गरिन् । त्यसैगरी तराईका जिल्लामा रहेको दाइजो प्रथा, बालविवाहका घटना कम गर्न सरकारले विशेष कानुन ल्याएर योजना बनाउन आग्रह गरिन् ।
सांसद गणेशकुमार पहाडीले युटिलिटी करिडोरका लागि छुट्टै कानुन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद गौरीशंकर चौधरीले टीकापुरबाट निर्वा्चित सांसद रेशम चौधरीलगायत थारू आन्दोलनका क्रममा जेल परेकाहरूको रिहाइको माग गरे । उनले टीकापुर घटनाका विषयमा गठित लाल आयोगको प्रतिवेदन माग गर्दै चौधरीलगायत अन्यमाथि लागाइएका झुटा मुद्दा फिर्ता गरी रिहाइको माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्