विष्फोटक पदार्थसहित ५ जना पक्राउ

काठमाडौं, फागुन ६ । विष्फोटक पदार्थसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले संखुवासभाको चैनपुर नगरापलिका–१ बाट ५ जनालाई पक्राउ गरेको हो । बम र विष्फोटक पदार्थ सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका मिडिया समन्वय अधिकृत सन्तोषकुमार राईले जानकारी गराए ।

प्रहरीको गस्ती टोलीले चैनपुर–४, दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित ५ जनालाई पक्राउ गरिएको मिडिया समन्वय अधिकृत राईले जानकारी दिए । पक्राउ परेका अन्य ४ जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेका राई नेकपा विप्लव समुहका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा आगजनी तथा बम विष्फोटन गरी फरार रहेकाको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको मिडिया समन्वय अधिकृत राईले बताए । प्रहरीले उनीहरुलाई पक्राउ गर्ने क्रममा हवाई फाइरसमेत गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट रेडबुल बम १ थान, सकेट बम १ थान, विष्फोटनमा प्रयोग हुने सेफ्टि फ्युज तथा तार र मोबाइल बरामद गरेको छ ।

प्रहरीले गत २ गते पक्राउ गरेको भए पनि आज मात्र सार्वजनिक गरेको हो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्