मुनाको घाँटी कँसेर, विजयको झुण्डिएर मृत्यु , यस्तो आयो रिपोर्ट

काठमाडौं, फागुन ४ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या तथा कामदार विजय चौधरीको मृत्युको पोष्टमार्टम रिपोर्ट आएको छ।रिपोर्ट अनुसार चौधरीले मुनाको घाँटीमा डोरीले कसेर मारेको खुलेको छ भने त्यसपछि चौधरीले आत्माहत्या गरेको रिपोर्टमा आएको छ ।

‘चौधरीले म्याडमको घाँटीमा डोरीले कसेर मारेको पाइन्छ,’ महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलका डिएसपी सन्तोष तामाङले भने, ‘त्यसपछि चौधरीले आत्महत्या गरेको रहेछ।’
मुनाले पछि प्रतिवाद गर्न लाग्दा पिर्काले हिर्काएको देखिएको डिएसपी तामाङले बताए। प्रहरीले हत्या गर्नुको कारण भने नखुलेको जनाएको छ।

‘हत्या गर्ने मान्छे मरेर गएपछि कारण खुल्न गाह्रो भयो,’ परिसरकी एसपी दुर्गा सिंहले भनिन्, ‘कुनै सुसाइड नोट पनि लेखेर गएको छैन, अरु थप अनुसन्धान भइरहेको छ।’

माघ २७ गते बिहान पूर्वसचिव अर्जुन कार्की पशुपति गएका बेला उनकी श्रीमती मुना कार्कीको हत्या भएको थियो। साथै उनकै घरमा काम गर्ने कामदार चौधरी पनि झुण्डिएको अवस्थामा फेला परेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कामदार चौधरीले मुनाको हत्या गरेपछि आत्महत्या गरेको बताइएको थियो।

चौधरीले सुरूमा पिर्काले मुनाको टाउकोमा हिर्काएपछि भुइँमा पटकपटक ठोक्याएको प्रारम्भिक अनुसन्धानले देखाएको थियो। यता यस घटनालाई लिएर सबैले आ आफ्नो टिपण्णी गरिरहेका छन् । कतिपयले त कार्की नै यसमा संलग्न रहेको पनि आरोप लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्