छुट्टाछुट्टै स्थनमा सवारी दुर्घटना: चारजनाको मृत्य

काठमाडौं , फागुन ४ । मोरङका अलगअलग स्थानमा आइतबार र शनिबार राती भएका सवारी दुर्घटनामा परेर चारजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका ३ तिरुपति पेट्रोल पम्पअगाडि आइतबार दिउँसो को ३७ प ९५७२ नम्बरको मोटरसाइकलले ठक्‍कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारका अनुसार साधुको भेषमा पैदल यात्रा गरिरहेका बेला उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले अन्दाजी ६०÷६५ वर्षीय वृद्धलाई ठक्‍कर दिएर घाइते बनाएको थियो ।

पहिचान नखुलेका वृद्धको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको पोदारले बताए । मोटरसाइकल चालक सुनसरीको दुहवी नगरपालिका-१ का २८ वर्षीय दीपेन्द्र चौधरी घाइते भएका छन् । चौधरीको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै ग्रामथान गाउँपालिका-३ स्थित भित्री सडक खण्डमा को ६ प ७९६९ नम्बरको मोटरसाइकलले आइतबार बिहान ठक्कर दिँदा पैदल यात्रु ५३ वर्षीय हरिलाल माझीको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका ग्रामथान -३ का माझीको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक पोदारले बताए । चालक २० वर्षीय चन्द्र मिर्गा फरार रहेको जानकारी उनले दिए ।

यता जहदा गाउँपालिका- ५ स्थित भित्री सडक खण्डमा दुईवटा मोटरसाइकल ठोक्‍किँदा एकजनाको मृत्यु भएको छ । को ३७ प ९७४३ र को १२ प ६२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्‍किँदा ९७४३ का चालक जहदा-५ का २५ वर्षीय वीरेन्द्र मण्डलको मृत्यु भएको हो ।

दुर्घटनापछि घाइते भएका उनको उपचारका क्रममा आइतबार बिहान ११ बजे विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि को १२ प ६२२ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँका २२ वर्षीय अभिषेक मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

यसै गरी मोरङको रतुवामाई नगरपालिका-१ स्थित भित्री सडक खण्डमा शनिबारराति रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरी निरीक्षक पोदारका अनुसार सडकमा रोकेर राखेको को २ त २८०० नम्बरको ट्याक्टरमा को २७ प ४६५० नम्बरको मोटरसाइकल पछाडिबाट आएर ठोक्‍किएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय अवित मियाँको उपचारका क्रममा राति ११ बजे रंगेली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्