सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव : प्रधानमन्त्री ओली
काठमाडौं, माघ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताउनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहो¥याउनुभयो ।
उहाँले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको उदाहरण दिँदै उहाँले भन्नुभयो, “केही समयअघि सुपारी, अदुवा तथा पाम आयलको निर्यातमा समस्या थियो, अहिले समस्या समाधान भएको छ, निर्यातका विभिन्न क्षेत्रमा सरकारले सहजीकरण गरिरहेको छ ।”
उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट निजी क्षेत्रलाई पूर्णरुपमा साथ रहने विश्वास दिलाउनुभयो । “ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुहोस्”, व्यवसायीलाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यदि कुनै अप्ठ्यारो आए मलाई भन्नुहोस् ।”
राजनीति परिवर्तनपछि मुलुक आर्थिक समृद्धिको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबका प्रयास सुशासन र आर्थिक विकासमा केन्द्रित हुने बताउनुभयो । “अब हामी नयाँ मार्गमा उत्साहित भएका छौँ, सिङ्गो देश विकासको काममा नलागी सुशासन र विकास सम्भव छैन”, उहाँले भन्नुभयो, “विकास र समृद्धिका लागि निजी क्षेत्रको सामूहिक सहयोगको खाँचो छ, सुशासन र देश विकासमा हाम्रो सामूहिक प्रयास लगाउनुपर्छ ।”
विकास र समृद्धिको मामिलामा सरकार र निजी क्षेत्रको समान धारणा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अब सुशासनमा पनि एक मत हुनुपर्ने बताउनुभयो । सुशासन विकास र समृद्धिको बाधक नभएको प्रष्ट्याउँदै उहाँले पारदर्शिता, स्वच्छता र कानूनको परिपालना गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
निजी क्षेत्रलाई लगानीमा सहजीकरण गर्न सरकारले विभिन्न प्रयास अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्रीले लगानीको वातावरण बनाइएको बताउनुभयो । “एकल विन्दु सेवा स्थापना गरिएको छ, लगानीको वातावरण बनाइएको छ, बैंक, वित्तीय संस्था र उद्योगीका बीमा उचित र सन्तुलित सम्बन्ध होस्, सरकार र व्यवासयीबीच पनि सौहाद्र्रपूर्ण सम्बन्ध होस् हामी यही चाहेका छौँ ।”
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सिआइपी सम्मानबाट निजी क्षेत्रको मनोबल बढेको बताउनुभयो । मुलुकका लगानीको वातावरण बनाउन सरकार सदैव क्रियाशील रहेको बताउँदै उहाँले भन्नुभयो, “राज्य सधैँ व्यवासयीको साथमा छ, हामी व्यापार–व्यवसाय गर्न कुनै व्यवधान आउन दिँदैनौँ । उद्योगी व्यवसायीको मनोबल खस्कन दिँदैनौँ, ढुक्क भएर लगानी गर्नुहोस् ।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सम्मानबाट मुलुकको अर्थतन्त्रको विकासमा लाग्न व्यवसायीलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्व एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सिआइपी सम्मानबाट व्यवसायीमा उत्साह थपिएको बताउनुभयो । निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै हिँडेको उल्लेख गर्दै उहाँले समृद्धिको यात्रामा सहकार्य गर्न तयार रहेको बताउनुभयो । –
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यताको इतिहास र संस्कृति सिकाउनु जरुरी रहेको बताएका छन् । गृह मन्त्रालयमा आज ७० औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा वर्तमानप्रति जिम्मेवार बन्ने र भविष्यप्रति उत्तरदायी हुने सभ्य समाज हुने तर मनपरी गर्न पाइने छाडातन्त्र स्वीकार्य नहुने स्पष्ट पारे ।
आफ्नो सभ्यताको राम्रा पक्षलाई जोगाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले अग्रजको सम्मान गर्न आग्रह गरे । राष्ट्र एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेतृत्व गरेको प्रसङ्ग जोड्दै प्रधानामन्त्री ओलीले नेपाली जनताकै अथक प्रयासबाट राष्ट्र निर्माणको गौरवपूर्ण इतिहास रचिएको बताए । उनले भने , “ तत्कालीन समयमा कालु पाँडे काटिए, छोरा दामोदर पाँडे पनि काटिए, भीमसेन थापा रेटिएर मारिए, उनका बाबु अमरसिंह थापा अलपत्र भएर हराए, जनताका छोराहरुले रगत र पसिना बगाएर बनाएको देशको इतिहासलाई बिर्सनुहुन्न ।”
उनले इतिहास र पुर्खाको बलिदानलाई कर्मकाण्डी बनाउनु नहुने बताउँदै भन्नुभयो, “हामी विद्वान् र बहादुर पुर्खाका सन्तान हौँ, त्यसैले इतिहासप्रति गर्व गर्न सिकौँ ।” उहाँले प्रजातन्त्र दिवसमा हरेकको घरमा दीपावली होस् भन्ने कामनासमेत गर्नुभयो । पालिका, वडा, विद्यालय र सङ्घसंस्थाको तहमा समेत दिवस मनाउनुपर्ने उहाँको सुझाव थियो । दिवसहरु बढी सरकारी कार्यक्रम जस्तो देखिएकाले जनताका कार्यक्रमका रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।
संस्कृतिलाई बिगार्न हुन्न
प्रजातन्त्र मूल समारोह समितिका संयोजकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकको भाषा, संस्कृति र सत्कारलाई बिगार्न नहुनेमा जोड दिनुभयो । सञ्चारमाध्यमबाट समाचारमा छापिएको विषय कोट्याउँदै प्रधानमन्त्री ओलीले आफ्नो भाषाको मर्मलाई मार्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सञ्चारमाध्यमलाई हजुरभन्दा साह्रै सानो लाग्छ, अङ्ग्रेजीमा कपी गरेर मिस्टर÷म्याडम भनेर बोलाउँदा राम्रो लाग्छ, कसैलाई तपाईं भन्नुपर्दा अपमान भएजस्तो लाग्छ, त्यस्तो होइन हाम्रो भाषा बच्चाबच्चीलाई माया गरेर तँ भनिन्छ, हुर्किंदै गएपछि तिमी हुन्छ र अग्रज वा सहकर्मीलाई तपाईं भनिन्छ ।” तपाईं भन्ने आदरार्थी व्यवहार समाजबाटै हटाउने सङ्गठित प्रयास भएकामा प्रधानमन्त्रीले चिन्ता प्रकट गर्नुभयो ।















प्रतिक्रिया दिनुहोस्