अफगानिस्तानमा आत्मघाती हमला, तीन सैनिकसहित पाँच जनाको ज्यान गयो

काठमाडौं, माघ २८ । अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालयलाई लक्षित गर्दै भएको आत्मघाती आक्रमणमा पाँचजनाको मृत्यु भएको छ ।

‘तीनजना सैनिकसहित पाँचजनाको मृत्यु भएको छ । दुईजना आम नागरिक हुन्,’ मन्त्रालयका प्रवक्ता नसरत रहिमीले अन्तर्रा्ष्ट्रिय मिडियालाई बताएका छन् । विस्फोटमा १२ जना घाइते छन् । जसमध्ये पाँचजना सर्वसाधारण हुन् ।

सैनिक प्रशिक्षालयको गेटमै हमला भएको थियो । ‘मर्सल फहिम मिलिटरी एकेडेमी’को गेट नजिकै हमला भएको बताइएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ नजिकैका घर नै हल्लाउने गरी शक्तिशाली विस्फोट भएको थियो । विस्फोटपछि गोली प्रहारको आवाज सुनिएको स्थानीयबासीले जनाएका छन् ।

विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । अफगानिस्तानका ग्रामिण स्थानमा तालिबान समूह सक्रिय रहँदैआएको छ ।

प्रतिक्रिया दिनुहोस्