विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं, माघ २४ । देशका विभन्न स्थाथनमा भएका सवारी दुर्घटनाबाट ६ जनाको मृत्यु भएको छ । बाग्लुङ, महोत्तरी, कञ्चनपुर र बैतडीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको हो ।

महोत्तरी, पिपरा गाउँपालिका(५ सहोडवास्थित सडकमा ज.१ ख ७५८ नम्बरको बसले ज.७ प ८५४५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक पिपरा गाउँपालिका(५ बस्ने १७ वर्षीय राजेन्द्र शर्माको घट्नास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुर, भिमदत्त नगरपालिका(१९ बागफाँटास्थित सडकमा म.२ प ७३५८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री ८० वर्षीया तुलसी देवी चन्दको महाकाली अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाग्लुङ, तमानखोला गाउँपालिका(३ बुलबुलेस्थित सडकमा म्याग्दीको मालिकाबाट जन्ती लिएर जाँदै गरेको ग.१ त ५७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार म्याग्दी मालिका गाउँपालिका(२ जेम बस्ने २१ वर्षीया रिता पुन समेत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ५ जनाको स्थानीय स्वास्थ्य चौकी बोङ्गादोभानमा उपचार भइरहेको छ भने ४ जनालाई थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङतर्फ पठाइएको छ ।

बैतडी, दशरथचन्द नगरपालिका(२ हुसिल्लामोडस्थित सडकमा बा.६ प ९१९९ नम्बरको कार अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका(४ शाहिलेक बस्ने २८ वर्षीय हरीश तिरुवाको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका कारमा सवार दार्चुला शैल्यशिखर नगरपालिका(९ बस्ने ३६ वर्षीय डिकर देब पाण्डेलाई थप उपचारको लागि धनगढीतर्फ पठाइएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसरी दिनानुदिन मानिसको सवारी दुर्घटनामा ज्यान गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्