राष्ट्रियसभाको भूमिकाबारे नकारात्मक टिप्पणी नगरौं : जितेन्द्रनारायण देव

काठमाडौं , माघ २२ । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रियसभाको भूमिकाबारे नकारात्मक टिप्पणी गर्न नहुने बताएका छन् । उनले टिपण्णी गर्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा उनले चेतनशील नागरिकसमेतले संविधानले राष्ट्रियसभाको काम कसरी परिभाषित गरिएको छ भन्नेबारे नबुझी नकारात्मक भावना लिएर बसेको बताए ।
उनले राष्ट्रियसभाबारे रहेको भ्रमपूर्ण बुझाइ हटाउन राष्ट्रियसभाले गरेको ऐतिहासिक कार्य, संवैधानिक हैसियत र गरिमाबारे नेपाली जनतालाई बुझाउने गरी कार्यक्रम गर्न सभाध्यक्षको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाको संवैधानिक हैसियतको वास्तविकता नेपाली जनतामाझ जान नसक्दा महत्त्व कम आकलन हुने गरिएको उनको भनाइ थियो । उनले महत्त्व झल्काउने कार्यक्रमको खाँचो रहेको पनि बताए । संविधानले अर्थ विधेयक प्रतिनिधिसभामा मात्रै पेस हुनुपर्नेबाहेक अन्य विषयमा संघीय संसदका दुई सदनलाई विभेद नगरेको र समान हैसियत प्रदान गरेको पनि उनको भनाइ थियो ।

नेता देवले राष्ट्रियसभाले सघन रूपमा, राजनीतिक तह, समिति तह र सचिवालय तहमा नियमति ‘प्रेस मिट’ गरी गरिएका काम सम्प्रेषण गर्न, राष्ट्रियसभाका सदस्यहरूलाई व्यक्तिगत र सामूहिक रूपमा जिम्मेवार बनाउने गरी नियमावलिमा संशोधन गर्न, समय समयमा विभिन्न प्रदेशमा राष्ट्रियसभाको संवैधानिक हैसियत काम र महत्त्वबारे विचार गोष्ठी गर्न र राष्ट्रियसभाका समितिहरूको कामको पुनर्संरचना गरी सबै समितिलाई पर्याप्त काम उपलब्धि हुने गरी राष्ट्रियसभा नियमावलीमा संशोधन गर्न सुझाए ।
संविधानले संघीय संसदका दुवै सदनलाई समान हैसियत, समान गरिमा र महत्त्व दिए पनि राष्ट्रियसभाको संवैधानिक वास्तविकताबारे नेपाली जनतामाझ जान नसक्दा बुझाइ फरक हुन गएको बताए । उनले राष्ट्रियसभाको महत्त्व बुझाउन सचिवालयले गर्नुपर्ने कार्य भन्दै ४ बुँदे सुझाव पनि दिए ।

प्रतिक्रिया दिनुहोस्