नेपाल टेलिकमको १६ औं बार्षिकोत्सव: कर्मचारीलाई राजनीति नगर्न सञ्चारमन्त्री बास्कोटाको चेतावनी

काठमाडौं , माघ २२ ।  नेपाल टेलिकमले आफ्नो स्थापनाको १६ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्व योजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेकोमा सन्तोष व्यक्त गरे ।

उनले एफटीटीएच प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित अवधिमै सम्पन्न गर्नुपर्ने र कम्पनीले प्रदान गरेका सेवाहरुमा गुणस्तर कायम गरी सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकताको विषय बनाउनु पर्ने बताए । समारोहमा  गोकुल बाँस्कोटाले नेपाल टेलिकमका कर्मचारीलाई राजनीति नगर्न चेतावनी दिएका छन् ।

टेलिकमको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस्तो चेतावनी दिएका हुन् । उनले कार्यालयमा बसेर हाजिर नगर्न कर्मचारीहरुलाई चेतावनी दिए ।

‘धेरै प्राविधिक र इन्जिनियरहरु विकट पहाड पुगेर टावर ठड्याउनुहुन्छ, उहाँहरुलाई धन्यवाद छ, बधाई छ,’ मन्त्री बाँस्कोटाले भने, ‘केही कर्मचारीहरु भने यहाँ कार्यालयमा बसेर राजनीति गर्नुहुन्छ । यहाँ राजनीति नगर्नुहोस्, राजनीति नै गर्ने भए पार्टी कार्यालयमा जानुहोस् ।’

मन्त्री बास्कोटाले टेलिकमलाई सरकारले आफ्नै सन्तानसरह माया गरेको पनि बताए । ‘टेलिमक एक फुलवारी हो । यसलाई गोडमेल आवश्यक पर्छ,’ मन्त्री बाँस्कोटाले भने ।

मन्त्री बाँस्कोटाले कम्पनीलाई माया गरेपछि सबै कर्मचारीको तलब बढ्ने उल्लेख गर्दै कामप्रति बफादार हुन पनि कर्मचारीसँग आग्रह गरे । उनले आफ्नो काम खटेर लाग्न पनि सुझाव दिएका छन् । अटेर गर्नेलाइृ कारबाही गर्ने बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपक सुवेदीले टेलिकमले अब समयानुकुल विभिन्न स्मार्ट सेवाहरु वितरण गर्ने र अत्याधुनिक प्रविधिका सेवाहरु गुणस्तरसहित प्रदान गरी ग्राहकको मन जित्नु पर्ने बताए । उनले यसका लागि बजारको प्रतिस्पर्धामा अब्बल ठहरिने गरी योजना कार्यान्वयन गरिने र गुणस्तरीय सेवा उपलब्ध गराइने बताए

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणसँगको सम्झौता अनुसार एक वर्षको अवधिमा कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यमा हासिल गरेको उपलब्धिप्रति सन्तोष व्यक्त गर्दै पूर्ण क्षमतामा प्रयोग नभएका पूर्वाधारहरु सहप्रयोग गर्न पनि नेपाल टेलिकम तयार हुनुपर्ने सुझाव दिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्था बारेमा जानकारी गराउँदै सम्झौता भएको एक वर्षभित्रै देशभर फोरजी विस्तार गर्ने महत्वाकांक्षी र चुनौतीपूर्ण लक्ष्य अनुरुप यसै साता देशका ७७ वटै जिल्लामा फोरजीको पहुँच पुर्याइएको बताए । उनले स्थानीय टेलिफोन सेवाको रुपान्तरणको लागि एफटीटीएच परियोजनालाई अगाडि बढाइएको र निकट भविष्यमा आईपीटीभी सेवा समेत एफटीटीएच मार्फत प्रदान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्