पञ्चकन्या माइ हाइड्रोको आइपिओ खुल्यो, कहाँ र कसले गर्ने आवेदन ?

काठमाडौं । पञ्चकन्या माइ हाइड्रोको एघार करोड रुपैयाँ बराबरको ११ लाख कित्ता साधारण सेयर (आइपिओ) को बिक्री खुलेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका स्थानिय बासिन्दाका लागि उक्त सेयर निष्कासन गरेको हो ।

स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत रकमको आइपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि १६ करोड ५० लाख रुपैयाँको १६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । स्थानीय र सर्वसाधारणलाई गरेर कम्पनीले कुल २७ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक निष्कासन गर्नेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाका लागि उक्त सेयर जारी गरेको हो । अहिले जारी भएको ११ लाख कित्ता सेयरमध्ये इलाम जिल्लाको सन्दकपुर गाउँपालिका बासीलाई ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता र इलाम नगरपालिकाका स्थानियलाई ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता सेयर वितरण गरिनेछ ।

स्थानियले सनराइज बैंक र प्रभु बैंकका इलाम शाखा, सन्दकपुर गाउँपालिकाको कार्यालय तथा पञ्चकन्या माईको साइट कार्यालयबाट समेत आवेदन गर्न सक्नेछन् ।

सेयरमा न्यूनतम २० कित्ता देखि अधिकतम ५ हजार ५०० कित्ता सम्मका लागि आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । साधारण सेयरमा आवेदन गर्ने अन्तिम दिन माघ १९ गते रहेको छ ।

साधारण सेयर जारी गर्नका लागि कम्पनीले सनराइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।

पञ्चकन्या माई हाइड्राको अधिकृत पूँजी एक अर्ब ९५ करोड रुपैयाँ तथा जारी पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्