१३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सञ्चालन
काठमाडौँ । सरकारले यही माघ २५ गतेदेखि १३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउने अभियान सञ्चालन गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जोखिममा रहेका १३ जिल्लाका ७४ लाख ६१ हजार व्यक्तिलाई औषधि खुवाउने तयारी गरेको हो ।
महाशाखाले सोमबार पत्रकार सम्मेलन गरी औषधि खुवाउन २१ करोड ५३ लाख ७६ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
हात्तीपाइले रोग ‘क्युलेक्स’ जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । ‘उचेरिया व्यान्क्रोफिट’ परजीवीको कारण लाग्ने छ ।
नेपालमा सन् २००३ देखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउन सुरु गरिएको थियो भने सन् २०२० भित्र यो रोग निवारण गर्ने लक्ष्य राखिएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.रोशन पोखरेलले अझै १३ जिल्लाका व्यक्तिहरु यस रोगबाट प्रभावित रहेको भन्दै औषधि खान मन नगर्दा यो रोगको जोखिम अझै कायम रहेको बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले हात्तीपाइले रोगको औषधि खुवाउन अहिलेसम्म ११ करोड रुपैयाँ खर्च भइसकेको जानकारी दिए । रोगको जोखिम १ प्रतिशतभन्दा कम नभएसम्म औषिध सेवन गराइने बताए ।
दुई वर्षमुनिका बालबालिका, कडा रोग लागेका बिरामी, सुत्केरी र गर्भवती महिलाबाहेक अन्यले औषधि खानसक्ने र खाली पेटमा नखान डा. लालले आग्रह गरे । यो औषधि वर्षको एकपटक खुवाइँदै आइएको छ ।
कार्यक्रममा नेपालमो हात्तीपाइले रोग नियन्त्रणको लागि गरिएका प्रयास हासिल गरेका उपलब्धिलगायत प्रस्तुत गरिएको थियो ।


















प्रतिक्रिया दिनुहोस्