नेपाल प्रहरी र स्काउटबीच सहकार्य गर्ने समझदारी

काठमाडौं , माघ १६ । नेपाल प्रहरी र नेपाल स्काउटबीच ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत समझदारी पत्रमा हस्ताक्षर भएको छ। लैनचौर स्थित नेपाल स्काउट कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी र प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समझदारी पत्रमा हस्ताक्षर गरे।

कार्यक्रममा नेपाल प्रहरी र नेपाल स्काउटबीच केन्द्रीय तहदेखि जिल्ला, पालिका स्तरसम्म ‘समुदाय–प्रहरी साझेदारी’ को अवधारणा अनुरुप साझेदारी र सहकार्य हुने बताइएको छ। नेपाल स्काउटका जिल्ला, पालिका स्तरका संरचनाहरु समुदाय–प्रहरी साझेदारीका जिल्ला र पालिका समितिका सदस्यको रुपमा रहने समझदारी पत्रमा उल्लेख छ। त्यसैगरि अपराध रोकथाम, सुरक्षा सचेतना अभिवृद्धिका सामुदायिक र विद्यालय सम्पर्क कार्यक्रमहरु संयुक्त रुपमा कार्यान्वयन गरिने समेत उल्लेख छ।

समझदारी पत्रमा हस्ताक्षर पश्चात आफ्नो धारणा राख्दै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले यो कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको हुँदा स्काउटबाट गर्नु पर्ने जस्तो सुकै सहयोग गर्न पनि नेपाल स्काउट तयार रहेको र स्काउट सबैले यो हाम्रो कार्यक्रमको हो भन्ने सोचेर अगाडि बढ्नु पर्नेमा जोड दिए।

भण्डारीले आगामी दिनमा सञ्चालन हुने सचेतनामूलक कार्यक्रम, विपद् व्यवस्थापन, सडक सुरक्षा लगायतमा नेपाल प्रहरी र नेपाल स्काउटको सामूहिक प्रयास रहने बताए। साथै नेपाल प्रहरीसँग समन्वय गरी स्वच्छ मनले असल र सुसंस्कृत नागरिक निर्माण गर्नका लागि सबै स्काउटका पदाधिकारी एवम् प्रतिनिधिहरुले आ–आफ्नो भूमिका निर्वाह गर्नेमा विश्वास समेत व्यक्त गरे।

कार्यक्रममा प्रहरी प्रमुख एवं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अबका दिनमा समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणमा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल प्रहरी र नेपाल स्काउट जान मिल्ने क्षेत्रमा सँगसँगै अगाडि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्