संसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ : सभापति देउवा

काठमाडौं, माघ १४ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले यस्तो बताएका हुन्

दउवाले भने “सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद् विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो ।”

संविधानको भावना प्रतिकूल केही विधेयकहरु सरकारले संसद्मा पेश गरेको भन्दै उनले मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधी विधेयकहरु त्यही रुपमा पारित गर्न नहुनेमा जोड दिए । प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको पनि उनले बताए ।

साथै अर्को प्रसंगमा उनले कोरोना भाइरसका सन्दर्भमा जोखिम न्यूनीकरणका लागि २४ घण्टे ‘हेल्प डेस्क’ चलाउन आवश्यक रहेको उल्लेख गरे ।  सभापति देउवाले चीनसँग सिधा उडान रहेको र चीनमा रहेका नेपालीका बारेमा समेत सरकारको ध्यान जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्