रुपन्देहीमा तीनवटा ट्रक ठोक्किए, तीनको मृत्यु

 

काठमाडौं, माघ १४ । रुपन्देहीको भैरहवा–भुमही सडक खण्डमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।रुपन्देहीको रोहिणी गाउँपालिका–४ छिपागढमा तीनवटा ट्रक एक–आपसमा ठोकिंदा तीजनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका हुन् ।

बिहान करीब ६ बजे भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु१ख ६७४५ नम्बरको ट्रक, परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना२ख ८४८१ र ना५ख ७८५६ नम्बरको ट्रक अत्यधिक कुहिरोका कारण ओभरटेक गर्न खोज्दा एक–आपसमा ठोकिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा भैरहवातर्फ आउँदै गरेको ना२ख ८४८१ नम्बरको ट्रकका चालक सुनसरी चतराका अन्दाजी ३५ वर्षीय पूर्णबहादुर भुजेल, नवलपरासी पाल्हीनन्दन–४ का ३० वर्षीय लालु कुर्मी, र ३५ वर्षीय मोबिकन कुर्मीको घटनास्थलमै मृत्यु भएको छ ।

घाइते ९ जनामध्ये दुईजनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएकाहरूको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । नवलपरासी पाल्हीनन्दन गाउँपालिका–४ का ४७ वर्षीय दुधई हरिजन र सिन्धुली रातामाटे बस्ने २७ वर्षीय मोहन राईको अवस्था अत्यन्त गम्भीर रहेको छ ।

मृत्यु भएकाको शव भैरहवास्थित भिम अस्पतालमा पोस्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्