शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास : शिक्षामन्त्री पोखरेल
काठमाडौं , माघ १४ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि शुरु भएको प्राविधिक रोजगार मेलाको उद्घाटन गर्दै उनले यस्तोमा जोड दिएका हुन् । शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुने उनले बताए । “सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न प्राविधिक विद्यालयको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने ।
साथै उनले सरकारले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको उल्लेख गरे ।बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजका प्राचार्य निर्मलप्रसाद न्यौपानेले मेलामा रोजगारदाता र रोजगार खोज्नेहरुको मिलन गराउने उद्देश्य रहेको बताए । “रोजगारदाताले सही र दक्ष रोजगार पाउन सकून् भनेर मेला आयोजना गरेका हौँ”, उनले भने ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गजुरेल, सिटिइभिटीका निर्देशक शिवहरि ढकाल, नेपाल इन्जिनीयरिङ काउन्सिलका उपाध्यक्ष अनराज सिलवाललगायतले बेरोजगार युवालाई रोजगार बनाउन बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीले कलेजले महत्वपूर्ण काम गरेको उल्लेख गरे ।
आजदेखि शुरु भएको रोजगार मेलामा नेपाटप, सिप्रदी, अशोक ली लैड, पञ्चकन्या, युनाइटेड वायर, केवलजस्ता २५ भन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्