नारायणगढ–मुग्लिन सडक राति ६ घण्टा बन्द हुने

काठमाडौं। चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ ।

माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।

यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस २९ देखि माघ २ गतेसम्म चार दिनका लागि उक्त सडक खुला गरिएको थियो ।

चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले अर्को निर्णय नभएसम्मका लागि रातिको ६ घण्टा सडक रोकेर काम गरिने बताए ।

गाडी बिग्रने, ओभरटेक गर्ने र निर्माण कार्यले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ । उक्त सडकको ३४ किलोमिटर क्षेत्रको सडक विस्तार कार्य जारी छ । दुई पटक म्याद थप्दा पनि अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्