मुलुकले झण्डै ५ महिनापछि सभामुख आज पाउँदै
काठमाौँ, १२ माघ । सभामुखका लागि आज निर्वाचन हुँदैछ । नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुँदैछन् ।
गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ । यस सँगै संघीय संसद्ले गति बनाउने छ । सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ ।
ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै सापकोटाका प्रस्तावक र आफ्नो धारणा राख्न समय दिनेछन् । प्रस्तावक र समर्थकले आफ्ना भनाइ राखेपछि ठाकुरले एकल उम्मेदवारी परेकाले सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गर्नेछन् ।
सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै अर्काे बैठक पनि बस्नेछ । दोस्रो बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्ने संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागे लगत्तै कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा गत असोजदेखि सभामुखविहीन छ । सत्तारूढ नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा प्रतिनिधिसभा बन्धक बनेको थियो । लामो गलफतीबीच नेकपाले सापकोटालाई अघि सारेसँगै सभामुख चयन प्रक्रिया अघि बढेको हो ।
यद्यपि, हत्या अभियोग लागेका व्यक्तिलाई सभामुख उम्मेदवार बनाइएको भन्दै विरोधसमेत भइरहेको छ ।
तर, वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले सापकोटाविरुद्ध सर्वाेच्चमा हालेको रिटमा आजै सुनुवाइ हुँदैछ ।
सभामुख चयन सकिएलगत्तै अब उपसभामुखका लागि पनि निर्वाचन हुनेछ । शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख रिक्त छ । सभामुख र उपसभामुख फरक राजनीतिक दलबाट हुनुपर्ने प्रावधान भएकाले उपसभामुख भने नेकपाबाहेकका दलबाट चयन हुनेछ । सापकोटाविरुद्ध विभिन्न आन्दोन पनि भईरहको छ । मइतिघर मण्डलामा नागरीक समाजलगायत प्रदशैन गर्दै आईरहको छ ।











प्रतिक्रिया दिनुहोस्