पश्चिम सेती जलविद्युत तत्काल अगाडि बढाउ, ‘आश्वासन अति भो, धैर्य गर्ने कति हो ?’

 

काठमाडौं, माघ ११ । पश्चिम सेती जलविद्युत् आयोजनाबारे स्थानीय युवाले काठमाडौंको माइतीघर मण्डलामा आवाज उठाएका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा निर्माण हुने भनेर वर्षाैदेखि चर्चामा रहेर अलपत्र परेको भन्दै उनीहरुले कचौरा’ आन्दोलन गरेका छन् । ‘बोलन्था थली’ धनगढीको आयोजनामा माइतीघरमा भएको ‘पश्चिम सेतीका लागि काठमाडौंमा कचौरा’ आन्दोलनमा आयोजनालाई तत्काल अगाडि बढाउन माग गरिएको छ ।

पश्चिम सेती आयोजना निर्माण हुने भन्दै सरकारले स्थानीय क्षेत्रमा विकास निर्माणका काम रोकेको र आयोजना समेत अगाडि नबढेकाले सर्वसाधारणमा अन्योल देखिएको आन्दोलनका संयोजक यादव जोशीले बताए ।कार्यक्रममा पश्चिम सेतीको आवश्यकता र सरकारले गर्नुपर्ने सुनुवाइबारे संयोजक जोशी र युवा अभियन्ता हेमराज थापाले बोलेका थिए ।

पश्चिम सेतीको आवाजलाई अझै सशक्त बनाउन राजनीतिक दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाउने र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग बहस र छलफल गर्ने कार्यक्रम तय गरिने संयोजक जोशीले बताए ।

‘स्थानीय जनताको मागलाई वर्षाैदेखि सरकारले सुनेको छैन,’ संयोजक जोशीले भने, ‘अहिले हामीले सांकेतिक आन्दोलन स्वरुप कचौरामा पश्चिम सेतीको पानी ल्याएका छौं । हाम्रा माग सुनुवाइ नभए भोलि झोलाभित्र बारुद ल्याउन बाध्य हुनेछौं ।’ पश्चिम सेतीलाई अलपत्र राख्नु स्थानीय जनतामाथि अन्याय हुने भन्दै संयोजक जोशीले सरकारले तत्काल निर्माण कार्य अगाडि बढाउनुपर्ने माग राखेका छन् ।

सरकारले २ दशक अघिदेखि आयोजनाका विभिन्न प्रक्रिया अगाडि बढाएपनि ७५० मेगावाट क्षमताको पश्चिम सेती निर्माण कार्य अगाडि बढ्न सकेको छैन । आन्दोलनरत युवाले ‘आश्वासन अति भो, धैर्य गर्ने कति हो ?’ लगायत नारासहित हातमा कचौरा र पश्चिम सेतीको पानी बोकेर प्रदर्शन गरेका छन् ।

सरकारले विभिन्न विदेशी कम्पनीसँग निर्माण प्रक्रिया अगाडि बढाउन सम्झौता गरेपनि कार्यान्वयन नहुँदा स्थानीय वासिन्दाले समस्या भोग्दै आएका छन् । आन्दोलनमा सुदूरपश्चिम घर भई काठमाडौंमा रहेका युवाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्