राष्ट्रिय हित अनुरुप हुने गरेर एमसिसी संसदबाट पारित हुन्छः गृहमन्त्री
काठमाडौं ,माघ ११ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय हित अनुरुप हुने गरेर अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पास हुने बताएका छन्।
शनिबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । साथै उनले देशको विकास र समृद्धिका लागि बाह्य सहयोग आवश्यक रहेको समेत उल्लेख गरे ।
‘संझौतामै नेपालको संसद र अमेरिकी सिनेटले एमसिसी पारित गर्ने उल्लेख भए अनुसार अहिले संसदमा यो प्रस्ताव दर्ता भएको हो,’ गृहमन्त्री थापाले भने, ‘केही बुँदाहरु संशोधन गरेर चाँडै अमेरिकी सहयोगको परियोजना पारित हुन्छ।’ उनले एमसिसीमा संशोधन हुने बुँदाका बारेमा भने केही उल्लेख गरेनन्।
कर्णाली प्रदेशको प्रदेश स्तरीय सम्मेलनमा भाग लिन आएका गृहमन्त्री थापाले संविधान र राज्यविरोधी समूह सरकारको नियन्त्रणमा रहेको बताए।
‘विप्लव समूह राज्यविरोधी भएकाले सरकारले प्रतिवन्ध लगाएको हो,’ उनले भने, ‘अहिले विप्लव समूह पूर्ण नियन्त्रणमा नभए पनि आधारभूत रुपमा राज्यको नियन्त्रणमा छ।’ उनले विप्लव समूहसँग वार्ताको प्रयास भइरहेको पनि बताए। गृहमन्त्री थापाले पछिल्लो समय भारतसँगको सम्वन्धमा चिसोपना आएको बताए।
प्रतिक्रिया दिनुहोस्