अब नाकामा पर्यटक तानातान गर्नेलाई कारवाही गरिने
काठमाडौ, माघ १० । नाकामा पर्यटक तानातान गर्नेलाई कारवाही गरिने भएको छ । पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्ने गरिन्छ । अब यस्तो गर्नेलाई कारवाही गरिने भएको छ ।
काँकडभिट्टाबाट काठमाडौँ, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन बस सेवा सञ्चालित छन् । ती बस सेवाका लागि यात्रु र उनीहरुका झोला बसपार्कमा तानातान गरिँदै आइएको छ । स्थानीय आँखा अस्पताल र होटल लजका लागि ग्राहक बनाउनसमेत नाकामा पर्यटकलाई जबर्जस्ती गर्ने गलत प्रवृत्ति छ ।
अब कसैले पर्यटकलाई तानेर हैरानी दिएको फेला परेमा कानूनबमोजिम कारवाही गर्न सर्वपक्षीय सहमति जुटाइएको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले जानकारी दिए । उनका अनुसार होटल व्यवसायी, यातायात व्यवसायी, प्रहरी प्रशासन, स्थानीय सामाजिक सङ्घसंस्थालगायतका प्रतिनिधिको छलफलले त्यस्तो तानातान प्रवृत्तिको अन्त्य गर्ने र कसैले अटेर गरेमा प्रहरीमार्फत कानूनी कारवाही चलाइने निर्णय गरेको हो ।
भूटान, बङ्गलादेश र म्यान्माका पर्यटक सोझै काँकडभिट्टा आएर पर्यटकीय गन्तव्य लुम्बिनी, पोखरा र सोलुखुम्बुसम्म पुग्ने गर्छन् । कोलकाता, सिक्किम, दार्जि्लिङ र भूटानका पर्यटकले बसयात्रा गर्नका लागि काँकरभिट्टा बसपार्क एकमात्र विकल्प हो ।
काँकडभिट्टा पर्यटक प्रवेश गर्ने महत्वपूर्ण नाका भएको हुँदा यहाँ आउने हरेक विदेशी पाहुनालाई मैत्रीपूर्ण व्यवहार गर्न वडाध्यक्ष तामाङले सबै व्यवसायीलाई आह्वान गरेका छन् । काँकडभिट्टा नाकाबाट २८ मुलुकका पर्यटक नेपाल भित्रिने गरेका छन् । पर्यटकमा मात्र होइा अन्यमा पनि यस्तो प्रविधि रहेको छ । यस्तो गर्नेलाई कारवाही गर्न आवश्यक पनि रहेको छ ।















प्रतिक्रिया दिनुहोस्