मानव बेचबिखन बढ्दो, प्रयोग हुँदै नयाँ शैली

काठमाडौं, माघ ७ । पछिल्लो समय मानव बेचबिखनमा नयाँ नयाँ रुट तथा शैली अपनाइन थालेको छ । दलालहरुले विभन्न रुट हुदैँ वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन ददेखाएर महिला तथा बालबालीका लैजाने क्रम बढेको छ । दिनानुदिन यस्ता घटना बढ्दै जना थालेका छन् । छोटो समयमै प्रशस्त धन कमाउने प्रलोभनमा फस्दा विभिन्न जिल्लाका महिला तथा किशोरीहरु भारतमा बेचिन पुगेका छन्, यो क्रम रोक्न सकिएको छैन । यसैबीच करिब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल–भारत सीमानाका बेलहिया आइपुगिन् ।

शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपूछ गर्दै जाँदा उनी इलामबाट रोजगारीका लागि विदेश जाँदै गरेकी महिला रहेको पत्ता लाग्यो । उनलाई दलालले भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर दिल्ली जाने बसमा सम्पर्क गरी पठाएका रहेछन् ।

सीमानाकामा प्रहरी तथा सङ्घसंस्थाका पदाधिकारीले सोधपूछ गरे खोकीको औषधि किन्न सुनौली जान लागेको भनी झुटो बोल्न दलालले सिकाए अनुसार आफू रुपन्देहीमै बस्ने र सुनौलीमा औषधि सस्तोमा पाइने भएकाले किन्न जान लागेको बताइन् । माइती नेपालका कर्मचारीले उनलाई धेरैबेर लगाएर सोधपूछ गरेपछि आफ्नो इलाम घर भएको र रोजगारीका लागि विदेश जान लागेको भेद खुलाइन् । पछि उनलाई माइती नेपालले परिवारको जिम्मा लगायो ।

तीन महिना अगाडि रुपन्देहीको धकधइका दुई किशोरीलाई दुइ महिलासँग रुपन्देहीको भगवानपुर नाकाबाट भारत जाँदै गर्दा भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रमा रोक्यो । सोधपूछका क्रममा आफूहरु आमा छोरी भनेर बताए पनि पटक–पटक कुरा फेरेपछि उनीहरुलाई माइती नेपाल भैरहवाको जिम्मा लगाइएको थियो ।

पछि सोधपूछ गर्दै जाँदा रुपन्देहीको कञ्चन गाउँपालिकाका दुई महिलाले धेरै धन कमाउने प्रलोभन देखाई कक्षा ८ पढ्ने र अर्की एसइई दिएर बसेकी किशोरीलाई भारत लैजान लागेको थाहा भयो । भारतमा झारफुक गरे प्रशस्त पैसा झर्छ भनी ललाइफकाई लैजान लागेको अवस्थामा प्रहरीले उद्धार गरेपछि उनीहरु बेचिनबाट बचे ।

बेचबिखनका लागि लैजाने दुई महिला अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियन्त्रणमा छन् । उनीहरूविरूद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलिरहेको छ । गत कात्तिक १५ गते भारतको मुम्बईबाट २२ वर्षीया महिलालाई दुई वर्षीया छोरीसँगै उद्धार गरियो ।

चितवनको भरतपुर घर भएकी तिनले विगत तीन वर्षदेखि मुम्बईमा देहव्यापारमा गर्दैआएकी थिइन् । भारतीयसँग विवाह गरेकी उनलाई जबर्जस्ती श्रीमान्ले देहव्यापारमा लगाएका थिए । विभिन्न सङ्घसंस्था र भारतीय प्रहरीको सहयोगमा माइती नेपालको सम्पर्कमा आएपछि सोधपूछ गर्दा आफ्नै श्रीमान्ले भारत लगेर देह व्यापारका लागि बाध्य बनाएको तथ्य खुल्यो ।

छोटो समयमै प्रशस्त धन कमाउने प्रलोभनमा फस्दा विभिन्न जिल्लाका महिला तथा किशोरीहरु भारतमा बेचिन पुगेका छन्, यो क्रम रोक्न सकिएको छैन । माइती नेपालका संयोजक माया क्षेत्री भन्छिन्– ‘रोजगारीमा जाने महिलालाई दलालले लिएर आउँदैनन् । होटलमा सम्पर्क गर्छन् । काठमाडौँ बोलाउँछन् । एक–ढेड महिना कोठामा राख्छन् । अब नेपालको बाटो जान पाइएन भारतबाट जानुपर्छ भनेर भारतमा लगेर बेच्छन् ।’ उनले खुल्ला सिमानाका कारण नेपालका महिलाहरु सजिलै भारत पुग्ने गरेको बताए ।

माइती नेपाल भैरहवाको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा सीमा क्षेत्रबाट ८१ जना र भारतका विभिन्न स्थानबाट सात जनाको उद्धार गरिएको छ । आर्थिक वर्ष २०७२र७३ मा २८९ जनालाई सीमा क्षेत्र र ३५ जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएको थियो । आव २०७३र७४ मा सीमा क्षेत्रबाट २५० जना र भारतबाट नौ जनाको उद्धार गरिएको छ ।

यस्तै, आव २०७४र७५ मा सीमा क्षेत्रबाट २७२ जना र भारतबाट १० जनाको उद्धार गरिएको छ । आव २०७५र७६ मा भारतीय क्षेत्रबाट उद्धार गरिएकाको सङ्ख्या ५० रहेको छ भने सीमा क्षेत्रबाट २५३ जनाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । यो सङ्ख्या माइती नेपालको सम्पर्कमा आएकाहरूको मात्र हो ।

भारत जान सीमानाकासम्म आउने महिला तथा किशोरीको साथमा केही हुँदैन । कागजपत्र र कपडा समेत दलालको नियन्त्रणमा हुने गरेको संयोजक क्षेत्रीको अनुभव छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कको आधारमा नेपालमा वार्षिक २०० देखि ३०० को सङ्ख्यामा मानव बेचबिखनको उजूरी पर्ने गरेको छ । प्रहरीको तथ्याङ्क अनुसार नेपालमा एक वर्षमा झण्डै १४ हजार मानिस हराउने र केवल ४७ प्रतिशत मात्र फेला पर्ने गरेको देखिन्छ ।

मानव बेचविखनविरुद्ध क्रियाशील नागरिक सङ्गठनहरुले उपलब्ध गराएको तथ्याङ्कअनुसार सीमा निरीक्षण तथा अनुगमनका क्रममा मात्र शङ्का लागि १० हजार भन्दा बढी व्यक्तिलाई सीमा नाकाबाट फिर्ता गरिएको छ । प्रहरीको तथ्याङ्क अनुसार दुई हजार १०४ जनालाई सीमा नाकाबाट फर्काइएको छ । नेपाल सरकारकै नेतृत्वमा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुक लैजान लागिएका ३०० भन्दा बढी ब्यक्तिलाई उद्दार गरिएको छ ।

प्रदेश नं ५ को प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार आर्थिक वर्ष २०७४र७५ मा ९० र आव २०७५र७६ मा ४९ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका छन् । यो वर्ष १५ वटा मुद्दा दर्ता भइसकेका छन् जसमध्ये रुपन्देहीका धेरै छन् । खुल्ला सिमानाका भएका कारण यसो भएको बुझिन्छ ।

मूलतः यौन बजार, बाध्यकारी कृषि श्रम, घरेलु कामदार तथा भारत हुँदै तेस्रो मुलुक लैजानका लागि महिला बेचबिखन हुने गरेको प्रहरी कार्यालय दाङका प्रवक्ता पोखरेलले बताए । ‘ग्रामीण भेगका सामान्य लेखपढ गरेका महिलाहरु दुःख नगरी पैसा कमाउन सकिन्छ भन्ने प्रलोभनमा फस्छन् र बेचबिखनमा पर्छन्,’ उनले भने ।

हतियारपछि मानव तस्करी नै विश्वको सबैभन्दा बढी नाफामूलक ब्यवसायको रुपमा रहेको छ । मानव बेचबिखन व्यक्तिविरुद्ध हुने एक अपराध मात्र नभई यो मानवअधिकार र मानव मर्यादा तथा मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भीर हनन पनि हो । यद्यपि विद्यमान ऐनले मानव बेचबिखनका समग्र सवालहरुलाई अधिकारमुखी ढङ्गले सम्बोधन गर्न सकेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्