नागढुङ्गाबाट ९ लाख ९९ हजार रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं , पुस २९ । नागढुङ्गाबाट ९ लाख ९९ हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् । उनीहरुलाई चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ९ लाख ९९ हजार रुपैयाँ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा पर्सा हिपरमाई गाउँपालिका-८ घर भएका २१ वर्षीय कृष्ण यादव र चितवन भरतपुर महानगरपालिका-१६ घर भएका ३८ वर्षीय राजु पौडेल रहेका छन् ।

काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा.२ ज ४८०२ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा सवार पौडेलको साथमा उक्त नगद फेला पारी उनीहरुलाई प्रहरीले समातेको हो ।

उता पर्साको वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकबाट स्रोत खुलाउन नसकेको नगद ३ लाख रुपैयाँ सहित भारत बिहार मोतिहारीका २१ वर्षीय जबिउल्लाह आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बीआर ०५ भी ३४४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्