कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार दुग्ध सहकारीलाई
काठमाडौँ, २८ पुस : यसवर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार केन्द्रीय दुग्ध सहकारी सङ्घलाई प्रदान गरिएको छ । सहकारी सङ्घले किसानको हितका लागि दुध सङ्कलन, प्रशोधन, चिस्यान केन्द्र, बिक्री बितरण प्रणाली, वजारीकरण तालिमका माध्यमबाट दुध उत्पादनमा वृद्धि तथा दुध व्यवसाय प्रवद्र्धनमा भूमिका निर्वाह गरेकाले उक्त पुरस्कार प्रदान गरिएको हो । नगद् रु.५० हजारसहित सम्मानपत्र रहेको पुरस्कार वि.सं.२०७५ देखि प्रदान गर्न थालिएको हो ।
साँझा सेवाको ३५ औँ साधारणसभाको अवसरमा उक्त पुरस्कार संस्थाका अध्यक्ष भीमबहादुर अधिकारीले वि.सं.२०२६ बाट संस्थामा संस्थापक सञ्चालक तथा अध्यक्ष रही नेतृत्वदायी भूमिका, दिगो विकास र स्थायित्व प्रदान गर्न स्व. दीक्षितको अथक योगदान रहेकाले सो पुरस्कारको स्थापना गरिएको जानकारी दिनुभयो ।
राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव बडालले नेपाली भाषा साहित्यकासाथ व्यवसायिक प्रतिष्ठानका माध्यमबाट सामाजिक कार्यमा क्रियाशील स्व. दीक्षित बहुआयामिक ब्यक्तित्वको रुपमा स्थापित भएको चर्चा गर्दै स्थापित पुरस्कारबाट साँझा संस्था तथा सहकारी क्षेत्रको विकासमा उहाँको लामो समयको योगदानलाई सम्मान गर्न सहयोग पुगेको बताउनुभयो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सहकारी र सामाजिक सेवाका लागि साँझा क्षेत्रको महत्व रहेको उल्लेख गर्दै यी क्षेत्रको क्षमता वृद्धि हुन सकेमा समाजिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।
निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठले साँझा र सहकारी आन्दोलनले कृषकलाई उत्पादन वृद्धि गर्न र बजारलाई सन्तुलित बनाउन भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नुभयो । पूर्व न्यायाधिश टोपबहादुर सिंहले उपभोक्तालाई सस्तोमा वस्तु बिक्री गरी किसानलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यबाट साँझा सेवाको शुरुआत भएको स्मरण गर्दै यस्ता सेवाको भूमिका कमजोर हुँदा उपभोक्ता र किसान दुबै मारमा परेको बताउनुभयो ।
साँझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले साँझा सेवाले आफ्नो व्यवसायिकता मार्फत सर्वसाधारणलाई सुलभ मूल्यमा गुणस्तरीय वस्तु बिक्री गर्दै आएको बताउँदै सहकारीको माध्यमबाट कृषकको जनजीवनमा आर्थिक रुपान्तरण गरेको सहकारी संस्थालाई नगद पुरस्कार सहित सम्मान गरेकामा त्यसको सराहना गर्नुभयो ।
पुरस्कृत संस्था दुग्ध सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटाले देशमा दुधको उत्पादन बढेसँगै अहिले बाहिरबाट धुलो दुध आयात रोकिएको बताउँदै सहकारी व्यबसायकोे सबैभन्दा उर्वर क्षेत्र कृषि क्षेत्र भएको बताउनुभयो ।
उक्त संस्थाले विसं २०२६ देखि निरन्तर रुपमा सर्व साधारणलाई सर्वसुलभ र विश्वसनीय सेवा पु¥याउँदै आएको छ । अनुदानित मल, ग्याँस, सिमेण्ट तथा इन्धनको बिक्री वितरणमा आफ्नो सेवा केन्द्रित राखेको बताइएको छ ।















प्रतिक्रिया दिनुहोस्