राजधानी हेटौँडा तोकिनु प्रदेशवासीका लागि ऐतिहासिक उपलब्धि : मुख्यमन्त्री
काठमाडौं, पुस २७ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशले स्थायी राजधानी र नामकरण ढिलो भए पनि प्राप्त गर्नु ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
प्रदेश राजधानी र नामकरणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री पौडेलले सिङ्गो नेकपा तथा प्रदेशका नेकपाका सदस्य, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रदेशसभामा सहभागी दल नेमकिपा, राप्रपालगायत सबै दलको साथ सहयोग प्राप्त भएको बताए ।
मुख्यमन्त्री पौडेलले स्थायी राजधानी हेटौँडा तोकिनु मकवानपुर वा हेटौँडाका लागि भन्दा पनि प्रदेशवासी सबैका लागि खुशीको कुरा हो भने । ‘आजको घोषणाले हेटौँडावासीलाई बढी उत्साहित बनाएको हुन सक्छ त्यो स्वाभाविक पनि हो, यसमा खुशी हुनु पनि पर्छ तर धेरै उच्छृङ्खल हुनु हुँदैन’, उनले भने ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको राजधानी हेटौँडा बनाइनुपर्ने पक्षमा प्रदेशसभाका सबै सदस्यको मत रहेछ भन्ने देखिएको बताए । उनले हेटौँडा प्रदेशको ऐतिहासिक स्थान हो, थियो र अझै पनि रहेछ भन्ने कुरा आजको नतिजाले देखाएको बताए ।
प्रदेशको राजधानी हेटौँडा भएकामा नेकपा नेता तथा प्रतिनिधिसभा, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले खुशी व्यक्त गरेका छन् । सभापति दाहालले हेटौँडा राजधानी घोषणा भएसँगै जनमानसको अन्योल समाप्त भएको बताउँदै भने, ‘अब हेटौँडालाई महत्वपूर्ण अवसर प्राप्त भएको छ ।
सबैको सामूहिक प्रयासको सफलता हो यो, हामी सबै मिलेर आगामी दिनमा हेटौँडालाई राजधानीलायक बनाउन धेरै काम गर्न बाँकी छ ।’ संविधानसभा सदस्य अनन्त पौडेलले प्रदेशको राजधानी हेटौँडा तोकिनु मकवानपुरवासीका लागि ठूलो उपलब्धि भएको बताए ।
प्रतिक्रिया दिनुहोस्