पार्सल पठाइदिन्छु भन्दै ठगी गर्ने २ विदेशीसहित ५ जना पक्राउ

काठमाडौं , पुस २५ । बहुमूल्य उपहार पार्सल गरी पठाइदिने आश्वासन दिएर ठगी गर्ने २ विदेशीसहित पाँच जना पक्राउ परेका छन् ।

फेसबुक, हृवाट्सएप, इमो ट्विटरमार्फत नेपालीलाई ठगी गर्दै आएका पाँच जनालाई बुधबार काठमाडौंबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले जनाएको छ ।

पक्राउ पर्नेमा ४० वर्षीय साइरिल चिनोन्सो इबे र २३ वर्षीय यासपे एडजी पियरेजियन छन् । मुख्य अभियुक्त साइरिल नाइजेरियन र पियरेजियन आइबोरिकोस्टको नागरिक भएको खुलेको छ ।

त्यस्तै यही समूहसँग जोडिएर ठगीमा संलग्न चितवनका ४० वर्षीय रामचन्द्र गैह्रे, काठमाडौंका ४९ वर्षीय उमेश श्रेष्ठ र चितवनकै ३१ वर्षीय हरि ओझालाई पनि प्रहरीले नियन्त्रणमा लिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनीहरूले विदेशी नागरिकको नाममा फेसबुक, ट्विटर, इमोलगायतको एकाउन्ट खोलेर साथी बनाउँदै ठगी गर्दै आइरहेका थिए ।

प्रवक्ता पाण्डेका अनुसार, एयरपोर्टमा पठाइएका सामान समातिएको बहाना बनाइ छुटाउन पैसा चाहिने भन्दै उनीहरूले ठगी गर्ने गरेका थिए ।

समातिएका पाँचै जनाको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्