इरानमा युक्रेनी विमान दुर्घटना : सवार १७६ जनाकै मृत्यु

काठमाडौं, पुस २३ । इरानमा युक्रेनी विमान दुर्घटना हुँदा सवार १७६ जनाकै मृत्यु भएको छ । इरानको तेहरानमा रहेको विमानस्थलबाट उडे लगत्तै दुर्घटनाग्रस्त भएको थियो । युक्रेनी विमानमा रहेका सबैको मृत्यु भएको इरान तथा युक्रेनका अधिकारीले बताएका छन् ।

इरान र युक्रेनका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले विमानमा रहेका १७६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । बधुबार बिहान तेहरानको इमाम खोमेइनी विमानस्थलबाट १६७ यात्रु र चालक दलका ९ सदस्य गरी कुल १७६ जनासहित उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको हो ।
अहिलेसम्म दुर्घटनाबारे युक्रेन अन्तर्रा्ष्टिय एयरलाइन्सले केही बताएको छैन । विमान खसेको ठाउँमा भीषण आगो लागेका कारण उद्धार गर्न नसकिएको इरानको आपतकालीन सेवाका प्रमुख पिर्होसेइन कोउलिभान्डले इरानी टेलिभिजनलाई बताएका छन् ।

घटनास्थलमा २२ एम्बुलेन्स, चारवटा ठूला एम्बुलेन्स र हेलिकप्टर पुगेका थिए तर उद्धार गर्न नसकिएको उनले बताएका छन् ।

इरान–अमेरिकाबिच हाल कायम तनाव र विमान दुर्घटनाबिच सम्बन्ध नरहे–नरहेको स्पष्ट भएको छैन । उद्धार टोली घटनास्थल पुगेका छन् ।

दुर्घटनामा परेको विमान बोइङ्ग ७३७–एनजी रहेको र सो विमान तीन वर्ष पुरानो रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्