सुलेमानीको अन्त्येष्टिमा भागदौड , ३५ जनाको मृत्यु
काठमाडौं , पुस २२ । इरानी सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिका क्रममा भएको भागदौड मच्चिँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।
अमेरिकी हवाई सैन्य कारबाहीमा बिहीबार इरानी सैन्य कमान्डर सुलेमानीको मृत्यु भएको थियो । उनको अन्त्येष्टिका लागि हजारौं इरानी जम्ममा भएका थिए ।
उक्त अन्त्येष्टि सभामा एक्कासि भागदौड मच्चिएको थियो । उक्त भागदौडमा ४० जनाभन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनको मृत्युले अमेरिका र इरानबीच युद्ध हुनसक्ने त्रास फैलिएको छ । सुलेमानी इरानमा सर्वोच्च नेता खामेनीभन्दा पछि दोस्रो दर्जाका शक्तिशाली व्यक्ति हुन् । अन्त्यष्टीमा सहभागी हुन देशभरबाट मानिसहरु ओइरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्