रङ्गीन पाठ्यपुस्तक चैतसम्म वितरण भइसक्ने
काठमाडौं, पुस २२ । राजनीतिक स्थिरता र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको व्यवस्थापन सुधारसँगै आगामी शैक्षिक सत्रका लागि आउँदो चैत मसान्तभित्र पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरण भइसक्ने भएको छ ।
पाठ्यपुस्तक छपाइको प्रगति अवस्था बुझ्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको मन्त्रालयको टोलीलाई केन्द्रले यस वर्ष समयमै पाठ्यपुस्तक उपलब्ध हुने विश्वास दिलाएको हो । सोही लक्ष्यका साथ आवश्यक मेशिन र कागजको प्रबन्ध गरी काम भइरहेको केन्द्रको व्यवस्थापन पक्षले अवगत गराएको छ ।
केन्द्रले आगामी शैक्षिक सत्रका लागि कक्षा २ देखि ४ सम्मका एक करोड ७५ लाख पाँच हजार ८०० थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिएकामा हालसम्म शतप्रतिशत छपाइ गरेको छ । कक्षा ५ देखि १० सम्मका दुई करोड ७२ लाख तीन हजार ४१४ थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिइएकामा हालसम्म ९७ लाख थान उत्पादन भई ४६ दशमलव प्रगति भएको छ ।
सरकारले माध्यमिक तहसम्मको पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने दायित्वअन्तर्गत त्यसको रकम सम्बन्धित स्थानीय तहमा निकासा गर्छ भने पाठ्यपुस्तक उत्पादन र वितरणका लागि जनक शिक्षा सामग्री केन्द्र तथा निजी क्षेत्रका मुद्रणलाई जिम्मेवारी दिइएको छ । सरकारले आधारभूत तहको पाठ्यपुस्तकको गुणस्तर वृद्धि गरी रङ्गीन पाठ्यपुस्तक छपाइ गर्न दिएको निर्देशनबमोजिम ‘उड फ्रि’ कागजमा रङ्गीन पाठ्यपुस्तक छपाइ भइरहेको छ ।
केन्द्रले हाल दुई सत्रमा मेशिन सञ्चालन गरी कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक दैनिक एक लाख थानभन्दा बढी सङ्ख्यामा छपाइ गरिरहेको केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमल्सिनाले बताए । उनले ती कक्षाका पाठ्यपुस्तकको ‘सिआरपी’ पाठ्यक्रम विकास केन्द्रबाट प्राप्त भएकाले आउँदो चैत २० गतेभित्र छपाइ सकाएर चैत मसान्तभित्र बिक्री वितरणका लागि पठाइसक्ने गरी कार्य गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्