छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाः ५ जनाको मृत्यु

काठमाडौं, पुस २२ । छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हँदा ५ जनाको मृत्यु भएको छ । सप्तरी, चितवन, ओखलढुङ्गा र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको हो भने ६ जना घाइते भएका छन् ।

सप्तरी, बलानबिहुल गाउँपालिका २ झिझहा टोलस्थित सडकमा स।८ प ७०११ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सुरुङगा नगरपालिका १० थलाहा बस्ने ३५ वर्षीया फुर्तिलाल मुखियाको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सप्तरी, कन्चनरुप नागरपालिका १० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, रत्ननगर नगरपालिका ४ देवैलीस्थित सडकमा रोकी राखेको ना।५ ख ६४४५ नम्बरको ट्रकमा ना।३८ प ८३२८ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका ४ देवैली बस्ने ३० वर्षीय अजय चौधरीको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ओखलढुङगा, सुनकोशी गाउँपालिका ३ स्थित सडकमा बा।६५ प ७४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय शेरबहादुर मगरको घटनास्थलमै मृत्यु भएको छ ।

सर्लाही, हरिपुर नगरपालिका ६ लक्ष्मीपुरस्थित सडकमा बिआर ०६ पिडि ३६३७ नम्बरको जिप अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा जिपमा सवार भारत बेगुसराई ग्राम सोनिहार बस्ने ४० वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत ५ जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्